डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का नवले कामी मौरीपालन व्यवसायमार्फत आत्मनिर्भर बन्ने प्रयासमा जुटेका छन्। परम्परागत जीविकोपार्जनमा सीमित रहँदै आएका कामीले मौरीपालनलाई आम्दानीको दिगो स्रोत बनाउने उद्देश्यले व्यवसाय सुरु गरेका हुन ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ र लुथरन विश्व फेडेरेसनको साझेदारीमा सञ्चालित सक्षम परियोजनाबाट सहयोग पाएपछि उनले मौरीपालन व्यवसाय सुरु गरेका हुन्। परियोजनाले स्थानीय स्तरमै स्वरोजगार सिर्जना गरी आर्थिक रूपमा पछाडि परेका मुक्त हलिया परिवारको आयआर्जन बढाउने उद्देश्यले उनलाई व्यवसाय सञ्चालनमा सहयोग गरेको हो ।

मौरीपालन व्यवसायबाट वार्षिक ५० देखि ७० हजार रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरेको नवले कामीले बताए। उनका अनुसार अहिले उत्पादन भएको मह प्रतिकेजी एक हजार रुपैयाँका दरले घरबाटै बिक्री हुन थालेको छ। स्थानीय स्तरमै महको माग र बिक्री हुन थालेपछि आफू यस व्यवसायप्रति उत्साहित भएको उनको भनाइ छ ।

मौरीपालनलाई कम लगानीमा राम्रो आम्दानी गर्न सकिने उच्च मूल्यको कृषि व्यवसायका रूपमा लिइन्छ । मह उत्पादन तथा बिक्रीबाट आम्दानी गर्न सकिने भएकाले नवलेले पनि यस व्यवसायलाई आफ्नो जीविकोपार्जनको माध्यम बनाउने लक्ष्य लिएका छन ।

परियोजनाबाट प्राप्त सहयोग पाएर व्यवसाय सुरु गर्न सहज भएको नवलेले बताए । स्थानीय स्तरमै उपलब्ध स्रोतसाधनको उपयोग गर्दै मौरीपालन व्यवसायलाई विस्तार गर्ने र आम्दानी बढाउने उनको योजना रहेको छ ।
सक्षम परियोजनाले मुक्त हलिया दलित समुदायका परिवारलाई विभिन्न आयआर्जनमूलक व्यवसायमा जोड्दै स्वरोजगार तथा आर्थिक आत्मनिर्भरता अभिवृद्धिका लागि सहयोग गर्दै आएको छ । यस्ता कार्यक्रमले आर्थिक रूपमा पछाडि परेका परिवारलाई आफ्नै गाउँमा व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।