नेपाली साहित्य जगतमा सानदार चर्चा पाएको उपन्यास ‘छाइल’

गणेश नेपाली, धनगढी –

उपन्यासकार लोकराज भट्टको उपन्यास छाइल पढ्ने अवसर मिल्यो । सुदुरपश्चिम प्रदेशमा थोरै लेखिने विधा आख्यान हो । तर थोरै लेखिए पनि लेखिएका उपन्यासले नेपाली साहित्य जगतमा सानदार चर्चा पाएका छन । तिनका विषयबस्तु आख्यान पस्किने शैलीले पाठकलाई मन्त्रमुग्ध बनाएका छन । तिनै कृतिको सूचिमा दर्ज हुन सकेको उपन्यास हो छाइल ।

सुदुरपश्चिम प्रदेशको डोटी , कैलाली देखि काठमाडौ सम्मको सेरोफेरोका जनजीवन उपन्यासका विषयबस्तुका रूपमा लेखिएको छाइलले सामाजिक , राजनैतिक , आर्थिक , साँस्कृतिक अवस्थालाई सजीव चित्रण गरेको छ । यसका पात्रहरू जिवन्त लाग्छन् । कथाको परिवेशले समाज विकासको एक युगलाई विशिष्ट रूपले सम्बोधन गरेको छ । पछ्यौटेपनको कारणलाई सशक्तसंग उठाएको छ । आज पनि समाजले अनेक थरी असमानताको सामना गरिरहेको दुरूह अवस्थाले उपन्यासकारलाई समाज र देशको परिवेश बोलेर आम रूपमा शंख घोष गराउन साहित्यको बाटो अंगिकार गर्न लगाएको छ । समाजका अनेक विसंगति , राज्यका संयन्त्रहरूको विकासमा चाहेर नचाहेर देखिएको विभेद , ग्रामीण जनजीवनका आनन्द , खुशी , कठिनतम भोगाइ , अभावलाई जिवन्त प्रस्तुत गर्न सक्नु उपन्यासकारको औपन्यासिक शिल्प र शैली बेजोडको लाग्छ ।

भौतिक विकासका हिसाबले बामे सर्दै गरेको सुदूरपश्चिम र अझ ग्रामीण क्षेत्रमा नेकपा माओवादीले २०५२ फागुन १ देखि शुरू गरेको सशस्त्र द्वन्द्वले ठप्प हुनपुगेको विकास , सामाजिक जीवनमा आउन लागेको फेरबदल र द्वन्द्व चरमोत्कर्षमा पुगेपछि गाउँको त्रासपूर्ण भोगाइ , निम्न मध्यम वर्गका जनताका छोराछोरी र तिनका परिवारका उच्च शिक्षा आर्जन गर्न गर्नुपरेका संघर्ष , अभावै अभावका वावजुद पनि शिक्षार्जनको प्यास र प्राप्तिको कठिन कहालिलाग्दो शैक्षिक यात्राको मार्मिक र प्रेरणादायी कथाबस्तुले नेपाली जनजीवनको यथार्थ पक्षलाई सशक्त उजागर गरिएको छ ।

सामाजिक जातीय विभेदको कुरुप चेहरालाई उदांगो बनाई प्रसस्त विभेदकारीका बिचमा पनि न्यायको सहासिक कदम उठाउन सक्ने सुपात्रहरू कुनै न कुनै रूपमा यो समाजमा देखिँदा शोषित र दमितलाई निस्ठुरी समाजमा पनि बस्ने आधार हुने सामाजिक द्वन्द्वलाई पनि यथार्थपरक ढंगबाट पस्कन सकेका छन् लोकराज भट्टले । हास्यरसको प्रयोग गरि पाठकलाई मनोरञ्जन हुने सन्दर्भ खुबै रुचिपूर्ण भएपनि एक ठाउँमा हास्यरसको प्रयोग जातीय ठेस लागाउने किसिमले प्रयोग भएको जानी नजानी उपन्यासकारले प्रयोग गरेका होलान् । उपन्यासमा सामाजिक विभेद र छुवाछुत हट्नलागेको लागेको देखाइएको छ ।

जीवन अनेक आरोह अवरोहसंगै गतिमान छ । भुइँमान्छेका कथा व्यथा संघर्ष सफलता विफलता दु:ख सुख आँसु र हासो आमरूपमा कसलाई पो सुन्ने र बुझ्ने रुचि र समय हुन्छ र ? जब त्यही जीवन एक सर्जकले कृतिमा अभिव्यक्त गर्छ त्यही कृति युगीन जीवन दर्शन बन्दछ । एक कालखण्डको ग्रामीण जनजीवन र सभ्यतालाई अमर बनाएका छन् सर्जकले छाइलमा ।

Loading...