डडेल्धुरा । राष्ट्रिय कर दिवस, २०८३ को अवसरमा डडेल्धुरामा प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ।
आन्तरिक राजस्व कार्यालय डडेल्धुराको आयोजना तथा उद्योग वाणिज्य संघ डडेल्धुराको समन्वयमा निकालिएको प्रभातफेरी अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडा चोकबाट सुरु भई बागबजार र बसपार्क हुँदै उद्योग वाणिज्य संघको कार्यालयमा पुगेर समापन भएको थियो।
‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिकको सहभागिता’ भन्ने नाराका साथ आयोजित प्रभातफेरीमा उद्योगी, व्यवसायी, विद्यार्थी, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सरकारी कर्मचारीहरूको सहभागिता रहेको थियो। प्रभातफेरीमा सहभागीहरूले करसम्बन्धी विभिन्न जानकारीमूलक सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए।
दिवसको उद्घाटन डडेल्धुराबाट निर्वाचित सांसद डा. ताराप्रसाद जोशीले गर्नुभएको थियो।
राष्ट्रिय कर दिवसको अवसरमा एक सातासम्म कर सप्ताहका रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरिने आन्तरिक राजस्व कार्यालय डडेल्धुराका प्रमुख गगनबहादुर शाहीले जानकारी दिनुभयो।
उहाँका अनुसार कर सप्ताहअन्तर्गत मंसिर २ गते महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई करदाता शिक्षा तथा सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। मंसिर ३ गते बजार अनुगमन गरी डिजिटल कर सेवाको प्रवर्द्धन, बिजक लिने–दिने तथा कर कानुनको पालना गर्दै कर सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले करदाताहरूलाई अभिमुखीकरण गरिनेछ।
त्यसैगरी, मंसिर ४ गते डोटीको जोरायल गाउँपालिकाको कार्यालयबाट करदाता सेवा विस्तारसम्बन्धी कार्यक्रमको उद्घाटनसँगै करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ। मंसिर ७ गते अन्तरक्रिया कार्यक्रम आयोजना गरी सबैभन्दा बढी आयकर तिर्ने तीन जना उत्कृष्ट करदातालाई सम्मान गर्दै कर सप्ताह समापन गरिने प्रमुख शाहीले बताउनुभयो।
नेपालमा आधुनिक कर प्रणालीअन्तर्गत मूल्य अभिवृद्धि कर (भ्याट) २०५४ मंसिर १ गतेदेखि लागू भएको दिनको सम्झनामा प्रत्येक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिएको छ।
- Facebook Comments
- Comments