मंसिर ३ काठमाडौ । हिन्दु धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्वका रूपमा रहेको हरिबोधनी एकादशी यस वर्ष मंसिर ४ गते शुक्रबार मनाइँदैछ। कार्तिक शुक्ल पक्षमा पर्ने यस एकादशीलाई देवोत्थान एकादशी तथा ठूली एकादशीका रूपमा समेत चिनिन्छ। यस दिन भगवान् विष्णुको विशेष पूजा–आराधना गर्नुका साथै तुलसी विवाह गर्ने धार्मिक परम्परा रहेको छ।
पञ्चाङ्गअनुसार मंसिर ४ गते शुक्रबार राति २ बजेर २२ मिनेटसम्म हरिबोधनी एकादशी तिथि रहने र त्यसपछि द्वादशी तिथि प्रारम्भ हुने उल्लेख छ। यसै दिनदेखि तुलसी विवाह तथा भीष्मपञ्चक आरम्भ हुने धार्मिक मान्यता छ।
हरिबोधनी एकादशीलाई भगवान् विष्णु चार महिनाको योगनिद्राबाट जाग्ने दिनका रूपमा लिइन्छ। आषाढ शुक्ल पक्षको हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु कार्तिक शुक्ल पक्षको हरिबोधनी एकादशीका दिन जाग्ने धार्मिक विश्वास छ। यससँगै चतुर्मास समाप्त हुने र विवाहलगायत शुभ तथा माङ्गलिक कार्यको शुभारम्भ हुने परम्परा छ।
धार्मिक ग्रन्थहरूमा हरिबोधनी एकादशीको विशेष महत्त्व उल्लेख गरिएको छ। पुराणमा भनिएको छ :
“तावद्गर्जन्ति तीर्थानि ह्यासमुद्रं सरांसि च। यावत् प्रबोधिनी विष्णोस्तिथिर्नायाति कार्त्तिकी।।“
यसको अर्थ समुद्रसम्म फैलिएका सम्पूर्ण तीर्थस्थल र पुण्यदायी सरोवरहरूको महत्त्वसमेत कार्तिक महिनामा भगवान् विष्णु जाग्ने प्रबोधिनी एकादशीको आगमनसँग जोडिएको छ भन्ने हो।
एकादशी व्रतको महत्त्व
व्रत भनेको मानिसले आफ्नो अन्तःकरणदेखि स्वीकार गरी पालना गर्ने धार्मिक तथा आध्यात्मिक अनुशासन हो। एकादशीको दिन भगवान् विष्णुको स्मरण, पूजा–आराधना, भजनकीर्तन र उपवास गर्नु विशेष फलदायी मानिन्छ।
धार्मिक मान्यताअनुसार एकादशीको व्रतले पाप नाश हुने, पुण्य वृद्धि हुने, मनोकामना पूरा हुने तथा मोक्ष प्राप्तिमा सहयोग पुग्ने विश्वास गरिन्छ। यस दिन व्रत बस्नाले हजार अश्वमेध यज्ञ र सय राजसूय यज्ञ गरेसरह पुण्य प्राप्त हुने धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ।
पद्मपुराणमा एकादशी व्रतको महिमाबारे भनिएको छ :
“स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी। कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी।।“
यसको भावार्थ एकादशी व्रतले स्वर्ग र मोक्ष प्राप्ति, शरीरको आरोग्यता, पारिवारिक सुख, सन्तान तथा धनसम्पत्तिको प्राप्तिमा सहयोग पुग्ने धार्मिक विश्वास रहेको छ।
त्यस्तै, पद्मपुराणमा गङ्गा, गया, काशी, पुष्कर र कुरुक्षेत्रजस्ता पवित्र तीर्थस्थलको पुण्यभन्दा पनि एकादशी व्रतको महत्त्व विशेष रहेको उल्लेख गरिएको छ।
कूर्मपुराणमा पनि व्रत, उपवास, नियम, हवन तथा ब्राह्मण तर्पणजस्ता धार्मिक कर्मबाट भगवान्को कृपा प्राप्त हुने उल्लेख छ। श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले यज्ञ, दान र तपस्यारूपी कर्म त्याग्न नहुने बताउनुभएको छ।
एकादशी व्रतको सुरुवात कसरी भयो ?
पौराणिक कथाअनुसार एकपटक धर्मराज युधिष्ठिरले भगवान् श्रीकृष्णसँग समस्त दुःख, पाप तथा त्रिविध तापबाट मुक्ति प्राप्त गर्ने उपायबारे जिज्ञासा राख्नुभएको थियो। त्यसपछि भगवान् श्रीकृष्णले उहाँलाई एकादशी व्रतको महत्त्व बताउँदै यसको पालना गर्न निर्देशन दिनुभएको धार्मिक ग्रन्थ पद्मपुराणमा उल्लेख छ।
यस व्रतलाई चार पुरुषार्थ धर्म, अर्थ, काम र मोक्ष प्राप्तिको माध्यमका रूपमा समेत व्याख्या गरिएको छ। त्यसैले सनातन धर्ममा एकादशी व्रतलाई विशेष महत्त्वका साथ लिने गरिन्छ।
कसरी गर्ने हरिबोधनी एकादशीको पूजा ?
हरिबोधनी एकादशीका दिन बिहान सबेरै उठेर स्नान गरी शुद्ध वस्त्र धारण गर्ने, भगवान् विष्णुको पूजा–आराधना गर्ने, तुलसीको पूजा गर्ने तथा दिनभरि भजनकीर्तन र हरिनाम स्मरण गर्ने परम्परा छ।
सम्भव हुने भक्तजनले निराहार व्रत बस्ने र नसक्नेले फलाहार वा एक छाक सात्त्विक भोजन गरेर व्रत बस्ने चलन छ। यस दिन पिँडालु, सक्खरखण्डलगायत फलाहारका सामग्री ग्रहण गर्ने नेपाली परम्परा पनि रहेको छ।
हरिबोधनी एकादशीको रात भगवान् विष्णुको नामसङ्कीर्तन गर्दै जाग्राम बस्ने चलन छ। शङ्ख, घण्ट, मृदङ्गलगायत धार्मिक वाद्ययन्त्र बजाएर भगवान् विष्णुलाई योगनिद्राबाट जगाउने गरिन्छ।
भगवान् विष्णुलाई जगाउँदा पढिने प्रचलित श्लोक :
“उत्तिष्ठोत्तिष्ठ गोविन्द त्यज निद्रां जगत्पते। त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तमिदं भवेत्।।”
त्यस्तै अर्को श्लोक :
“उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृतवसुन्धरे। हिरण्याक्षप्राणघातिन् त्रैलोक्ये मङ्गलं कुरु।।”
भगवान् विष्णुलाई जगाइसकेपछि षोडशोपचार विधिअनुसार पूजा गर्ने, विभिन्न फलफूल तथा नैवेद्य अर्पण गर्ने र आरती गर्ने धार्मिक परम्परा छ।
तुलसी विवाहको विशेष महत्त्व
हरिबोधनी एकादशीका दिन घरआँगनमा रोपिएको तुलसीको विधिपूर्वक विवाह गर्ने परम्परा नेपाली समाजमा विशेष रूपमा प्रचलित छ। यस दिन तुलसीको मठलाई गोबर र माटोले लिपपोत गरी सफा गरिन्छ। मठलाई रातो, सेतो र पहेँलो वस्त्र, फूलमाला तथा अन्य पूजासामग्रीले सजाइन्छ।
तुलसीलाई भगवान् विष्णुको प्रिय स्वरूपका रूपमा पूजा गरिन्छ। तुलसी विवाहका क्रममा तुलसीको प्रतीकात्मक रूपमा भगवान् विष्णुसँग विवाह गराइन्छ। यस अवसरमा विवाहका मन्त्र, भजनकीर्तन तथा धार्मिक विधि सम्पन्न गरिन्छ।
पौराणिक मान्यताअनुसार तुलसी विवाह सम्पन्न गरेपछि विवाहलगायत शुभ तथा माङ्गलिक कार्य गर्ने बाटो खुल्ने विश्वास छ।
चतुर्मास समाप्तिसँगै शुभकार्यको सुरुवात
पौराणिक कथाअनुसार एकपटक माता लक्ष्मीले भगवान् नारायणलाई वर्षभरि जागा रहँदा आफू तथा अन्य देवताले विश्राम गर्न नपाएको भन्दै प्रत्येक वर्ष निश्चित समयका लागि विश्राम गर्न आग्रह गर्नुभएको थियो।
माता लक्ष्मीको आग्रह स्वीकार गर्दै भगवान् विष्णुले प्रत्येक वर्ष वर्षा ऋतुका चार महिना योगनिद्रामा रहने र कार्तिक शुक्ल पक्षको हरिबोधनी एकादशीका दिन जाग्ने वचन दिनुभएको धार्मिक कथन छ।
त्यसैले हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्मको चार महिनालाई चतुर्मास भनिन्छ। यस अवधिमा विवाहलगायत केही माङ्गलिक कार्य नगर्ने परम्परा छ। हरिबोधनी एकादशीसँगै चतुर्मास समाप्त हुने भएकाले विवाह, व्रतबन्ध तथा अन्य शुभकार्यको सुरुवात गरिन्छ।
यसै दिनदेखि भीष्मपञ्चक व्रतसमेत आरम्भ हुन्छ। भीष्मपञ्चक पाँच दिनसम्म चल्ने धार्मिक अनुष्ठान हो। यस अवधिमा भगवान् विष्णुको पूजा, व्रत, दान तथा धार्मिक कर्म गर्नाले विशेष पुण्य प्राप्त हुने विश्वास गरिन्छ।
समग्रमा हरिबोधनी एकादशी केवल व्रत र पूजाको दिन मात्र नभई धार्मिक आस्था, आत्मअनुशासन, भक्ति, दान र पारिवारिक संस्कारसँग जोडिएको महत्त्वपूर्ण पर्व हो। यस दिन भगवान् विष्णुको आराधना, तुलसी पूजा, भजनकीर्तन तथा सत्कर्ममा सहभागी भएर श्रद्धालु भक्तजनले धार्मिक परम्परालाई निरन्तरता दिने गर्दछन्।
- Facebook Comments
- Comments