आचार्य श्री बालकृष्णजी महाराजको जन्मोत्सव तथा जडीबुटी दिवसको अवसरमा डडेलधुरामा वृक्षारोपण

डडेलधुरा, पतञ्जलि योग समिति, डडेलधुराको आयोजनामा परमपूज्य आयुर्वेद शिरोमणि आचार्य श्री बालकृष्णजी महाराजको शुभ जन्मोत्सव तथा राष्ट्रिय जडीबुटी दिवसको पावन अवसरमा श्री उग्रतारा वेद विद्याश्रम परिसरमा वृक्षारोपण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।


पर्यावरण संरक्षण, प्राकृतिक सम्पदाको संवर्द्धन तथा जडीबुटी संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका थिए । सहभागीहरूले वृक्षारोपणलाई प्रकृति संरक्षणसँगै भावी पुस्ताप्रतिको जिम्मेवारीका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अमरबहादुर वली, प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंह, अमरगढी नगरपालिकाका वडा अध्यक्ष, शिक्षा शाखा प्रमुख हेमन्त पन्त, श्री उग्रतारा वेद विद्याश्रम परिवार तथा पतञ्जलि परिवारका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


यस पावन अवसरमा पतञ्जलि योग समिति, पतञ्जलि युवा नेपाल समिति, महिला पतञ्जलि योग समिति तथा सम्पूर्ण योग साधकहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियाे ।


सुदुरपश्चिम युवा नेपाल समिति सयाेजक गाेबिन्द खडायतले आचार्य श्री बालकृष्णजी महाराजको जन्मोत्सव र जडीबुटी दिवसलाई केवल औपचारिक रूपमा नभई वातावरण संरक्षण, आयुर्वेदको प्रवर्द्धन र जनचेतना अभिवृद्धिसँग जोडेर मनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिदै आईरहेकाे पतञ्जलि योग समिति, डडेलधुराले जनाएको छ ।

Loading...