कैलाली। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले मंगलबारबाट जिल्लाका दुई स्थानबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो ।
धनगढीको मोहनपुर र टीकापुर गोदामबाट सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा गहुँ खरिद सुरु गरिएको छ ।
सरकारले निर्धारण गरेको गहुँको न्यूनतम समर्थन मूल्य तीन हजार ९४५ रुपैयाँ रहेकामा खाद्य कम्पनीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले चार हजार २५० रुपैयाँमा गहुँ खरिद गर्न लागेको हो । “कम्पनीको कैलाली जिल्लामा गहुँ खरिद कोटा १० हजार क्विन्टल रहेको छ । प्रतिकिसानबाट बढीमा ७० क्विन्टलका दरले र कृषिसम्बन्धी सहकारीबाट प्रति सहकारी बढीमा ५०० क्विन्टलसम्म गहुँ खरिद गर्ने योजना छ ।”खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले स्थानीय तहहरूले गोदाम उपलब्ध गराए जिल्लाका अन्य ठाउँबाट पनि गहुँ खरिद गरिने बताए ।
प्रादेशिक कार्यालयका अनुुसार गहुँ बिक्रीका लागि किसानले आफ्नो परिचय खुल्ने कागजात, किसान प्रमाणित भएको वडाको सिफारिस वा प्रमाणित प्रति र स्वघोषणापत्र अनिवार्य साथमा ल्याउनुपर्ने बताएको छ । गहुँको रकम बैंक खातामार्फत अनलाइन भुक्तानी गरिने छ । गत वर्ष कम्पनीको जिल्लामा गहुँ खरिद कोटा पाँच हजार क्विन्टल रहेकामा ५२ दशमलव पाँच क्विन्टल मात्रै खरिद भएको थियो ।