डडेल्धुरामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

डडेल्धुरा । डडेल्धुरामा जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा बुधबारदेखि सुरु भएको हो ।
१६औँ राष्ट्रपति रनिङ शिल्डकाे उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री माननीय सरस्वती खड्काले गर्नु भएकाे हाे । उहाले डडेल्धुरा खेलकुदको उर्वर भूमि भएको बताउनु भयो । राज्यमन्त्री खडकाले खेलकुदमा भाग लिँदा अनुशासन निकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै सबै खेलाडीलाई अनुशासनपूर्वक प्रतियोगतामा सहभागी हुन आग्रह गर्नु भयो ।
कार्यक्रममा जिल्ला खेलकुद समितिका अध्यक्ष जगत एरले अनुशासित भएर उत्कृष्ट खेल प्रदर्शन गर्न विद्यार्थीहरूलाई आग्रह गर्नु भयो। टिम गेमको टोली छनोट गर्दा उत्कृष्ट खेलाडीलाई मात्रै छनोट गर्न रेफ्री र अम्पायरलाई उहाँले निर्देशन दिनुभयो। उहाँले सीमित स्रोतसाधनका बाबजुत प्रतियोगिता सञ्चालन गर्नुपरेको बताउनु भयो ।
टुँडिखेलमा भइरहेको प्रतियोगितामा जिल्लाका साता वटै स्थानीय तहको सहभागिता रहेको छ। प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगायतका खेलहरू खेलाइँदैछन। प्रतियोगिता बुधबार र बिहीबार चल्नेछ। जिल्लास्तरीय उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद समिति डडेल्धुराले जानकारी दिएकाे छ ।