कञ्चनपुर। दसैँ–तिहार मनाउन भारतबाट स्वदेश फर्किने नेपालीको चाप बढेसँगै कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ। चाडपर्वका बेला सीमा नाकाबाट विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन हेल्थ डेस्कमार्फत यात्रुको स्वास्थ्य परीक्षण गर्ने गरिएको हो ।
सरकारले सीमा नाकामा स्थापना गरेका हेल्थ डेस्कबाट मलेरिया, क्षयरोग, एचआइभी, कोभिड–१९, डेङ्गु र स्क्रब टाइफसलगायत छ प्रकारका रोगको परीक्षण गरिरहेको छ।
भारतबाट फर्किने नागरिकमा हुनसक्ने सङ्क्रामक रोगको पहिचान गरी समयमै उपचार गर्न तथा सङ्क्रमण फैलिन नदिन नाकामै स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिए ।
“सङ्क्रमण देखिए अस्पतालमा ल्याएर निःशुल्क उपचार गरिन्छ,” भट्टले भने, “टाढाबाट आएका व्यक्तिका हकमा सम्बन्धित जिल्लाको अस्पतालमा खबर गरेर उपचारको व्यवस्था मिलाइन्छ।”
उनका अनुसार भारतमा मलेरिया, डेङ्गुलगायत सङ्क्रामक रोग बढी फैलिएका क्षेत्रबाट आएका यात्रु तथा ज्वरो आएका व्यक्तिलाई प्राथमिकतामा राखेर परीक्षण गर्ने गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार असोज महिनामा मात्रै गड्डाचौकी नाकामा चार हजार ७०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणका क्रममा हालसम्म दुई जनामा क्षयरोग (टीबी) पोजेटिभ देखिएको छ भने अन्य परीक्षणमा सङ्क्रमण पुष्टि नभएको कार्यालयले जनाएको छ ।
प्रहरीको तथ्याङ्कअनुसार अहिले गड्डाचौकी नाका हुँदै दैनिक करिब दुई हजार नेपाली स्वदेश फर्किरहेका छन्। रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली चाडपर्व मनाउन घर फर्किन थालेपछि नाकामा यात्रुको चाप बढेको हो ।
यसैबीच, यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमा नाकासहित जिल्लाका विभिन्न आठ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ।
प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने यात्रुको सङ्ख्या बढेकाले सुरक्षा निगरानी तीव्र पारिएको बताए।
“गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्कसहित जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ,” उनले भने, “चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि न्यूनीकरण गर्न सुरक्षा व्यवस्था चुस्त पारिएको छ।”
चाडपर्वका बेला स्वदेश फर्किने यात्रुको सङ्ख्या बढ्ने भएकाले स्वास्थ्य परीक्षण, यात्रु सहायता र सुरक्षा निगरानीलाई प्रभावकारी बनाइएको सम्बन्धित निकायले जनाएका छन ।