काठमाडौँ — नेपालमा ‘स्क्रब टाइफस’ को सङ्क्रमण तीव्र रूपमा फैलिँदै देशभरका ७४ जिल्लामा पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) का अनुसार सन् २०२६ को जनवरीदेखि हालसम्म देशभर ९,८७२ जनामा यो सङ्क्रमण पुष्टि भइसकेको छ भने पछिल्लो एक महिनामै २,७१८ जना नयाँ बिरामी थपिएका छन्। हिमाली जिल्लाहरू हुम्ला, मुगु र डोल्पा बाहेक देशका सातै प्रदेशमा यो रोग देखा परेको छ। महाशाखा निर्देशक डा. अनुज भट्टचनका अनुसार पछिल्लो समय लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै सङ्क्रमण पुष्टि भएको छ भने कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा पनि प्रकोप व्यापक छ। यस्तै कोशी प्रदेशमा जनवरीयता १,०६८ जनामा सङ्क्रमण पुष्टि भएको छ, जसमध्ये सबैभन्दा बढी सङ्खुवासभामा ५१३ जना, सुनसरीमा ११८, भोजपुरमा ११०, ओखलढुङ्गामा ९६, धनकुटा र खोटाङमा ४३-४३ तथा झापामा ३७ जना रहेका छन्। गत वर्ष सन् २०२५ मा पनि देशभर १०,१९२ जनामा सङ्क्रमण पुष्टि भएको थियो, जसमा लुम्बिनीमा ३,४६०, सुदूरपश्चिममा २,०३६ र गण्डकीमा १,२३४ जना बिरामी परेका थिए।
पछिल्लो समय सल्यानको दार्मा गाउँपालिका ‘स्क्रब टाइफस’ को उच्च जोखिममा परेको छ। सल्यानमा गत एक महिनामा ३ जनाको मृत्यु पुष्टि भइसकेको छ भने दार्मामा ६ सयभन्दा बढी सङ्क्रमित भएको र ८ जनाको मृत्यु भएको खबर आएको छ। यद्यपि महाशाखाका सूचना अधिकारी हेमराज पाण्डेका अनुसार ८ जनाको मृत्युको विषय आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेकाले रोग नियन्त्रण र अनुसन्धानका लागि महाशाखाको टोली सल्यानको दार्मा पुगिसकेको छ।
यो रोग ‘ओरिएन्टिया त्सुत्सुगामुसी’ नामक जीवाणुबाट हुन्छ र सङ्क्रमित सूक्ष्म किर्ना (माइट) को लार्भाले टोक्दा मानिसमा सर्छ। खासगरी वर्षायाम र त्यसपछिको समयमा खेतबारी, जङ्गल तथा घाँसे झाडीमा काम गर्ने क्रम बढ्ने भएकाले मानिसहरू यसको उच्च जोखिममा पर्छन्। सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार उच्च ज्वरो आउनु, टाउको र शरीर अत्यधिक दुख्नु, जाडो लाग्नु, ग्रन्थी सुन्निनु, छालामा बिमिरा आउनु र किर्नाले टोकेको ठाउँमा कालो खटिरा (Eschar) जस्तो दाग देखिनु यसका प्रमुख लक्षण हुन्। केही बिरामीमा खोकी लाग्ने, सास फेर्न कठिनाइ हुने, पेट दुख्ने र वाकवाकी लाग्नेजस्ता लक्षण पनि देखिन सक्छन्।
समयमै रोग पहिचान गरी चिकित्सकको सल्लाह अनुसार औषधी प्रयोग गरेमा स्क्रब टाइफस पूर्ण रूपमा निको हुन्छ। डा. बास्तोलाले रोगबाट बच्न घाँसपात वा झाडीमा काम गर्दा शरीर पूरै ढाकिने कपडा, जुत्ता र पन्जा प्रयोग गर्न, घरवरिपरिको झाडी सफा राख्न र ज्वरो आएमा जथाभाबी औषधी सेवन नगरी तत्काल नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन आग्रह गर्नुभएको छ।