डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा महाअष्टमीका अवसरमा दर्शनार्थीको घुइँचो लागेको छ । डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर उत्तरमा अवस्थित मन्दिरमा अष्टमी मेला भर्न तथा भगवतीको दर्शन र पूजाआजा गर्न विभिन्न जिल्लाबाट भक्तजन पुगेका छन ।
महाअष्टमीका दिन उग्रतारा भगवती मन्दिरमा परम्पराअनुसार पूजाआजा गर्ने तथा राँगा र बोकाको बलि दिने चलन छ । मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ। दशैंका अवसरमा उग्रतारा भगवतीको दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन मन्दिर पुग्ने गरेका छन ।
उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमी मेलामा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लासहित अन्य क्षेत्रबाट समेत भक्तजन आउने गरेका छन । उनले उग्रतारा भगवती मन्दिरको धार्मिक महत्त्वका कारण हरेक वर्ष दशैंका अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको बताए।
उग्रतारा भगवती मन्दिरलाई सुदूरपश्चिमका नौ भगवतीमध्ये एक महत्त्वपूर्ण शक्तिपीठका रूपमा लिने गरिन्छ। धार्मिक किंवदन्तीअनुसार करिब दुई हजार पाँच सय वर्षअघि हालको अमरगढी नगरपालिका–८ स्थित लटाउली गाउँमा एक स्थानीयले बारीमा हलो जोत्ने क्रममा हलोको फाली शिलामा लाग्दा रगत बगेको थियो। त्यसपछि देवी प्रकट भई दर्शन दिएको धार्मिक विश्वास रहिआएको छ।
त्यसयता उग्रतारा भगवतीलाई महागौरी दुर्गा र कालीको स्वरूपमा पूजा गर्दै आइएको छ। यस मन्दिरमा महाअष्टमी र दशैंका अवसरमा विशेष पूजाआजा हुने गर्दछ। धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्त्व बोकेको उग्रतारा मन्दिर डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न जिल्लाका भक्तजनको प्रमुख आस्थाको केन्द्र बनेको छ।
यसैगरी, उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन महापूजासहित ठूलो मेला लाग्ने गर्दछ । ‘देइजात’ नामले चिनिने उक्त मेलाले यस क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानलाई उजागर गर्दै आएको छ।
- Facebook Comments
- Comments