डडेल्धुरा भाद्र २५ । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको तीज कार्यक्रम स्थगित गरी भोटेकोशी बाढीपीडितका लागि सहयोग गरिएको छ ।
अखिल वार्जे नेपाली समाज, पुणेको आयोजनामा हुने भनिएको हरितालिका तीज कार्यक्रम यस वर्ष बाढीपहिरोका कारण प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको पीडालाई मध्यनजर गर्दै नगर्ने निर्णय गरिएको हो। ।
तीजको रमाइलो तथा उत्सवमा खर्च हुने रकमलाई विपद्मा परेका परिवारको राहतका लागि प्रयोग गर्ने उद्देश्यले कार्यक्रम स्थगित गरी मानवीय सहयोगमा जुटिएको आयोजकले जनाएको छ ।
बाढीका कारण घरबार, धनसम्पत्ति तथा आफन्त गुमाएर कठिन अवस्थामा रहेका परिवारलाई तत्काल सहयोग र साथ आवश्यक रहेकाले यस वर्ष उत्सवभन्दा मानवीय सेवालाई प्राथमिकता दिइएको समाजले जनाएको छ ।
समाजले भनेको छ, “उत्सवभन्दा ठूलो मानव सेवा हो। हाम्रो सानो सहयोगले बाढीपीडितको पीडामा केही राहत मिलोस् भन्ने उद्देश्यले तीज कार्यक्रम स्थगित गरी सहयोग गरेका हौँ।”
विपद्का कारण पीडामा रहेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै गरिएको यो पहलले विदेशमा रहेका नेपालीहरूले पनि मातृभूमिमा आइपरेको दुःख र विपद्मा साथ दिन सक्छन् भन्ने सकारात्मक सन्देश दिएको छ ।
तीजजस्तो सांस्कृतिक पर्वलाई केवल मनोरञ्जन र उत्सवका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोड्ने अखिल वार्जे नेपाली समाज, पुणेको यो कदमले ‘पहिले मानवता, त्यसपछि उत्सव’ भन्ने भावनालाई समेत उजागर गरेको छ ।
- Facebook Comments
- Comments