कञ्चनपुर । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव फेला परेको छ । भत्किएको झोलुङ्गे पुलमा अड्किएको नेपाल टेलिकमको तार तान्ने क्रममा नदीमा बेपत्ता भएका थारूको शव पुलको तारमा अड्किएको अवस्थामा फेला परेको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार थारूको शव रहेको स्थान पहिचान भइसकेको छ । तीव्र बहावका कारण शव निकाल्न भने कठिनाइ भइरहेको छ।
“शव रहेको स्थान पहिचान भएको छ। पानीको माथिल्लो भागबाट हेर्दा सशस्त्र प्रहरीको टी–सर्ट लगाएको व्यक्ति तारमा अड्किएको देखिन्छ,” कोइरालाले भने, “नदीको बहाव तीव्र भएकाले शव निकाल्न चुनौती भइरहेको छ । गोताखोर टोली र नेपाली सेनाले प्रयास गरिरहेका छन ।”
उनका अनुसार आवश्यक परे नदीको बहाव कम गर्न जेसीबी प्रयोग गर्ने तयारीसमेत गरिएको छ।
दुई साताअघि दोधाराचाँदनी जोड्ने झोलुङ्गे पुल भत्किएको थियो। पुल भत्किँदा नेपाल टेलिकमको इन्टरनेट तारसमेत चुँडिएको थियो। सोही तार तान्ने क्रममा डुङ्गा अनियन्त्रित भएपछि असई थारू महाकाली नदीमा बेपत्ता भएका थिए।
बर्दियाको ठाकुरबाबा नगरपालिका–६, तुलसीपुर निवासी थारू बेपत्ता हुनुभन्दा एक दिनअघि मात्रै दोधाराचाँदनीको देवस्थानस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर भएका थिए।