डडेल्धुरा । डडेल्धुरामा १५२औँ विश्व हुलाक दिवस डडेल्धुरामा विभिन्न कार्यक्रमका साथ मनाइएको छ । जिल्ला हुलाक कार्यालय डडेल्धुराको आयोजनामा शुक्रबार (असोज २३ गते) विश्व हुलाक दिवस मनाइएको हो ।
विश्व हुलाक दिवसकै अवसरमा जिल्लाका दुई स्थानीय तहमा पिटन सेवा सञ्चालन गरिएको जिल्ला हुलाक कार्यालय डडेल्धुराका प्रमुख श्याम प्रसाद ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार हुलाक सेवालाई थप प्रभावकारी बनाउँदै नागरिकको पहुँचमा पुर्याउने उद्देश्यले अजयमेरु गाउँपालिका र परशुराम नगरपालिकामा पिटन सेवा सञ्चालन गरिएको हो । हुलाक सेवा नागरिकसम्म चिठीपत्र, सूचना तथा विभिन्न सामग्री पुर्याउने महत्वपूर्ण माध्यमका रूपमा रहँदै आएको छ । बदलिँदो समयअनुसार हुलाक सेवालाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाउँदै ग्रामीण क्षेत्रका नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरिएको कार्यालय प्रमुख ओझाले बताउनुभयो ।
१५२औँ विश्व हुलाक दिवसको अवसरमा डडेल्धुरामा अमरगढी नगरपालिकास्तरीय पत्रलेखन प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला हुलाक कार्यालय डडेल्धुराको आयोजनामा भएको प्रतियोगितामा १० वटा विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यार्थीमा पत्र लेख्ने संस्कृतिको विकास गर्नुका साथै हुलाक सेवाको महत्वबारे जानकारी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भन्डारीले कार्याक्रमको उदघाटन गर्दै हुलाक सेवाको महत्वलाई नयाँ पुस्तामाझ परिचित गराउन पत्रलेखन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले हुलाक सेवालाई समयअनुकूल विकास गर्दै नागरिकको आवश्यकताअनुसार प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले हुलाक सेवा सरकारी निकाय र नागरिकबीच सूचना तथा सन्देश आदानप्रदान गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाँले प्रविधिको विकाससँगै हुलाक सेवालाई पनि समयानुकूल परिमार्जन गर्दै सेवाको गुणस्तर र पहुँच विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । अमरगढी नगरपालिकास्तरीय पत्रलेखन प्रतियोगितामा प्रथम श्री ज्ञानोदय विधा निकेतनले नगत २५ हजार, द्वितीय बैजनाथ मावि मौरडाले १५हजार र तृतीय महेन्द्र मावि खंलगाले १० हजार नगत सहित सबैले प्रमाणपत्र पाएका छन । यसै बिच हुलाक सेवामा कार्यरत कार्यालयका कर्मचारीलाई सम्मान गरिएको थियो ।