डडेल्धुरामा शैक्षिक गुणस्तर अभिवृद्धिका गर्ने उद्देश्यले आधारभूत र माध्यमिक तहका प्रधानाध्यापकहरूसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न
डडेल्धुरा । शिक्षा विकास तथा समन्वय एकाइ, डडेल्धुराको आयोजनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यलेआधारभूत / माध्यमिक तहका प्रधानाध्यापकहरूसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइको सभाहलमा सम्पन्न कार्यक्रममा शैक्षिक सुधार, विद्यालयका असल अभ्यासहरूको आदानप्रदान तथा शिक्षा नीति, ऐन र कानुनको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख गगन सिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा महानिर्देशक दुर्गादत्त विष्ट र प्रमुख जिल्ला अधिकारी वेदराज फुयल विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन सिंह भण्डारीले जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय, स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । उनले विद्यालयको शैक्षिक उपलब्धि वृद्धि गर्न प्रधानाध्यापकको नेतृत्वदायी भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै असल अभ्यासको आदानप्रदान र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले शिक्षा क्षेत्रको सुधारका लागि नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनसँगै विद्यालयमा अनुशासन, जिम्मेवारीबोध र जवाफदेहिताको विकास आवश्यक रहेको बताए । उनले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, प्रधानाध्यापक, अभिभावक तथा सम्बन्धित निकायले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महानिर्देशक दुर्गा दत्त विष्टले महत्वपूर्ण सत्र सञ्चालन गर्दै सहभागी प्रधानाध्यापकहरूलाई शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक उत्प्रेरणा प्रदान गरेका थिए । उनले विद्यालयको शैक्षिक उपलब्धि वृद्धि गर्न प्रभावकारी नेतृत्व, जिम्मेवारीबोध र असल अभ्यासहरूको कार्यान्वयनमा जोड दिएका थिए । यस्तै शिक्षण सिकाइ, व्यवस्थापकीय क्षमता र विद्यालयमा भएका असल अभ्यासहरूको अनुकरण महत्वपूर्ण हुने महानिर्देशक विष्टले बताएका थियो ।

अन्तरक्रियाका क्रममा सहभागी प्रधानाध्यापकहरूले आ–आफ्ना विद्यालयमा अपनाइएका असल अभ्यासहरूबारे अनुभव आदानप्रदान गरेका थिए । साथै, शिक्षा नीति, ऐन तथा कानुन कार्यान्वयनका क्रममा देखिएका विविध समस्या, चुनौती र तिनको समाधानका उपायबारे छलफल गरिएको थियो ।
कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ तथा कक्षा ८ को परीक्षामा स्थानीय तहगत रूपमा उत्कृष्ट नतिजा हासिल गराउन सफल प्रधानाध्यापकहरूलाई सम्मान गरिएको थियो । उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापकहरूलाई सम्मान गर्दै अन्य विद्यालयलाई समेत शैक्षिक उपलब्धि सुधारका लागि प्रोत्साहित गरिएको थियो ।

कार्यक्रममा कार्यालय प्रमुख नारायणदत्त भट्ट, निमित्त कार्यालय प्रमुख भोजबहादुर चुनारा, नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहको उपस्थिति रहेको थियो ।
शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालयहरूबीच समन्वय विस्तार, असल अभ्यासहरूको आदानप्रदान तथा शैक्षिक नीतिको प्रभावकारी कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय खोज्न कार्यक्रम महत्वपूर्ण रहेको आयोजकले जनाएको छ ।
