विपद् जोखिम न्यूनीकरण र दोलखाको दिगो विकासबारे संवाद, दशैंको शुभकामना आदान–प्रदान

काठमाडौं, ।  दोलखा विकास मञ्चको आयोजनामा ‘विपद् र दोलखा संवाद’ तथा बडादशैं २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तनका प्रभाव तथा दोलखाको दिगो विकासका विषयमा विज्ञहरूले गहन छलफल गरेका थिए। सहभागीहरूले दोलखा प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले विपद् पूर्वतयारी, पूर्वसूचना प्रणालीको सुदृढीकरण र जनचेतना अभिवृद्धिमा विशेष जोड दिनुपर्ने धारणा राखेका थिए ।
दोलखा विकास मञ्चका अध्यक्ष हरिप्रसाद शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ जलविज्ञ आत्माकृष्ण श्रेष्ठ रहेका थिए। कार्यक्रममा राजनीतिकर्मी आनन्दप्रसाद पोखरेल, रुद्रबहादुर खड्का, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ तथा एसएस फाउण्डेशनका संरक्षक शोभित उप्रेती विशेष अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमको प्रारम्भमा अध्यक्ष शर्माले दोलखा विकास मञ्चको स्थापना, उद्देश्य तथा जिल्लाको सामाजिक, आर्थिक र विकासका क्षेत्रमा मञ्चले पुर्‍याउँदै आएको योगदानबारे प्रकाश पारेका थिए।
कार्यक्रमको पहिलो सत्रमा ‘भोटेकोशी बाढी २०८२ : सिकाइ, जलवायु परिवर्तन र नेपालमा बढ्दो जोखिम’ विषयमा डा. दीपक विक्रम थापाले कार्यपत्र प्रस्तुत गरेका थिए। त्यस्तै, ‘खतरा, विपत् र विपद् जोखिम व्यवस्थापन’ विषयमा इन्जिनियर डा. हरिदर्शन श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए।
दुवै कार्यपत्रमा प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि प्रभावकारी योजना, पूर्वतयारी, पूर्वसूचना प्रणालीको विकास तथा स्थानीयस्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो। विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय समुदायको सहभागिता र सम्बन्धित निकायबीचको समन्वय आवश्यक रहेको विषयसमेत उठाइएको थियो।
प्रस्तुत कार्यपत्रमाथि दोलखा पर्यटन बोर्डका प्रमुख व्यक्तित्व बैकुण्ठनारायण प्रधान तथा श्याम बस्नेतले विश्लेषणात्मक टिप्पणी गरेका थिए। उनीहरूले विपद् व्यवस्थापनलाई जिल्लाको समग्र विकास नीति तथा योजनासँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा बडादशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदानसमेत गरिएको थियो। सो अवसरमा नेपाली कांग्रेस दोलखाका सभापति तथा पूर्व जिल्ला विकास समिति सभापति रुद्रबहादुर खड्का, नेकपा एमालेका नेता लालकुमार केसी र घनश्याम रिजालले शुभकामना मन्तव्य व्यक्त गर्दै चाडपर्वले सामाजिक सद्भाव, एकता र सहकार्यको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका थिए।
प्रमुख अतिथि आत्माकृष्ण श्रेष्ठले प्रस्तुत कार्यपत्रहरूको प्रशंसा गर्दै दोलखा विकास मञ्चले जिल्लाको विकास, नीति निर्माण तथा बौद्धिक बहसका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले दोलखाको समग्र विकासका लागि आफूले पनि निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै विभिन्न विकाससम्बन्धी गुरुयोजना (मास्टरप्लान) को रूपरेखा तयार पार्ने कार्यमा संलग्न रहेको जानकारी दिए।
कार्यक्रमको समापन गर्दै अध्यक्ष हरिप्रसाद शर्माले विपद् व्यवस्थापन, जलवायु परिवर्तन र जिल्लाको विकासजस्ता महत्वपूर्ण विषयमा सार्थक छलफल भएको बताए। उनले कार्यक्रममा सहभागी अतिथि, वक्ता तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमको सञ्चालन मञ्चका महासचिव एवं अधिवक्ता सुब्बा श्रेष्ठले गरेका थिए। कार्यक्रममा राजनीतिज्ञ, प्राध्यापक, चिकित्सक, पत्रकार, समाजसेवी तथा साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले दोलखाको दिगो विकास, विपद् जोखिम न्यूनीकरण तथा सामाजिक एकताका विषयमा साझा धारणा निर्माण गर्न सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

Loading...