डडेल्धुरा जिल्ला खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यको पदस्थापन र सपथग्रहण सम्पन्न

डडेल्धुरा । डडेल्धुरा जिल्ला खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको पदस्थापन पद तथा  सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जगत बहादुर ऐरले समितिका उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्यहरूलाई पद  सपथ गराउँदै पदस्थापन गराउनुभएको हो । समितिका अध्यक्ष ऐरले यसअघि नै गत वैशाखमा सपथ ग्रहण गरी कार्यभार सम्हालिसक्नुभएको थियो ।
अध्यक्ष ऐरबाट सपथ ग्रहण गर्ने पदाधिकारीमा उपाध्यक्ष दिल बहादुर बोहरा र कोषाध्यक्ष निरञ्जन रावल रहनुभएको छ । त्यसैगरी सदस्यहरू लक्षण नेगी, रमेश शाह, किरण ऐर, नरेश भाट, निशा कार्की र हरिकला गुरुङले पनि पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले डडेल्धुरामा खेलकुदको विकास र विस्तारका लागि स्थानीय तहको सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक बाटोमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै जिल्लाको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन खेलकुद क्षेत्रको विकास आवश्यक रहेको बताउनुभयो ।
“खेलकुदले युवाहरूलाई अनुशासित र स्वस्थ बनाउनुका साथै जिल्लाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्छ,” अध्यक्ष अवस्थीले भन्नुभयो, “अध्यक्ष जगत बहादुर ऐरको सक्रियतामा हालै डडेल्धुरामा सफलतापूर्वक सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले यहाँको खेलकुद क्षमतालाई उजागर गरेको छ ।”
उहाँले डडेल्धुरालाई आगामी दिनमा खेलकुदको हबका रूपमा विकास गर्ने लक्ष्यमा स्थानीय तह र जिल्ला खेलकुद विकास समिति मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। समितिको लक्ष्य पूरा गर्न स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग र सहकार्य रहने उहाँको भनाइ थियो ।
कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी अमर बहादुर वलीले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणसँगै खेलाडीको क्षमता विकासमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जगत बहादुर ऐरले डडेल्धुरालाई खेलकुदको हब बनाउने लक्ष्यसहित समिति अघि बढिरहेको बताउनुभयो ।
उहाँले व्यवस्थित खेलमैदान निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउने तथा ऐतिहासिक टुँडिखेललाई अझ व्यवस्थित र उत्कृष्ट खेलमैदानका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो ।
अध्यक्ष ऐरका अनुसार खेलकुद क्षेत्रको पूर्वाधार विकासका लागि स्पष्ट बजेट र कार्ययोजना बनाएर समिति अघि बढ्नेछ। जिल्लामा खेलाडी उत्पादन, प्रशिक्षण, प्रतियोगिता सञ्चालन तथा खेलकुद पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको पदस्थापनसँगै जिल्ला खेलकुद विकास समितिले डडेल्धुराको खेलकुद क्षेत्रलाई थप व्यवस्थित, गतिशील र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ ।

Loading...