धनगढी । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोट गर्न प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु भएको छ। कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिमले ३० वटा खेल विधामा खेलाडी छनोट गर्न लागेको हो।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको छनोट प्रतियोगिता मंसिर १ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता कैलाली, कञ्चनपुर र डडेल्धुरामा आयोजना गरिएको छ।
धनगढी रंगशालामा आयोजित उद्घाटन समारोहमा मुख्यमन्त्री खगराज भट्टले प्रतियोगिताको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले खेलकुदले मानिसलाई अनुशासित, स्वस्थ र जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले प्रदेश सरकार आफ्नो क्षमता र स्रोतसाधनअनुसार खेल क्षेत्रको विकास तथा खेलाडीको प्रोत्साहनका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।
छनोट प्रतियोगिताअन्तर्गत डडेल्धुरामा महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेछ। कैलालीमा फुटबल, एथलेटिक्स, क्रिकेट, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, बक्सिङ, उसु, खोखो, सुटिङ, जिम्न्यास्टिक, रग्बी, भारोत्तोलन, शारीरिक सुगठन र ई–स्पोर्ट्सका खेल सञ्चालन हुने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्काले जानकारी दिए।
त्यस्तै, कञ्चनपुरमा कबड्डी, तेक्वान्दो, कराँते, फुलकन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, कुस्ती र जुडोका प्रतियोगिता सञ्चालन गरिनेछन्।
प्रदेशका नौवटै जिल्लाबाट छनोट भएर आएका कुल दुई हजार ४६४ खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा खेलाडी, प्रशिक्षक तथा अफिसियल गरी ७४४ जनाको सहभागिता रहने प्रदेश खेलकुद परिषद्ले जनाएको छ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशकी सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिमा यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्नेछन्।
- Facebook Comments
- Comments