नेपाली युवा नितेश पन्तको छैटौं एआई उत्पादन ‘अल्केमी’ ले अमेरिकी परामर्श उद्योगमा नयाँ साेच ल्याउँदै

काठमाडौं  ।  सुदूरपश्चिमको धनगढीमा हुर्किएका २६ वर्षीय नितेश पन्तले विद्यालय पढ्दापढ्दै आफ्नै प्रयासमा अमेरिकी आइभी लिग विश्वविद्यालय डार्टमाउथ कलेजमा प्रवेश पाए। आज उनी अमेरिकी एआई कम्पनी DevDash Labs मा Product and Growth नेतृत्व गर्दै विश्वव्यापी व्यावसायिक सेवा क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (AI) को नयाँ प्रयोगमार्फत चर्चा बटुलिरहेका छन्।

उनले नेतृत्व गरेको पछिल्लो एआई उत्पादन ‘alkemy’ (अल्केमी) ले अमेरिकी व्यवस्थापन परामर्श (Management Consulting) कम्पनीहरूलाई कसलाई सम्पर्क गर्ने, किन अहिले सम्पर्क गर्ने र के भन्ने भन्ने विषयमा सटीक सुझाव दिन्छ। यसले कुनै कम्पनीसँग पहिलेदेखि रहेका सम्बन्ध, बजारमा भएका नयाँ परिवर्तन तथा उपलब्ध तथ्यहरूको विश्लेषण गरेर सम्बन्धलाई व्यवसायमा रूपान्तरण गर्न सहयोग पुर्‍याउँछ।

अल्केमीको विशेषता भनेको सामान्य एआई च्याटबोटभन्दा फरक रूपमा कम्पनीभित्र रहेका सम्बन्धहरू, अघिल्ला संवादहरू तथा व्यावसायिक सन्दर्भलाई सम्झने क्षमता हो। यसले अनुमानका आधारमा उत्तर नदिई प्रमाणित गर्न नसकेका तथ्य खाली छोड्ने सिद्धान्त अपनाएको छ।

चार असफलता, छैटौं प्रयासमा सफलता

नितेश पन्तको सफलताको कथा पहिलो प्रयासमै सुरु भएको होइन।

सन् २०२४ देखि २०२६ सम्म उनले DevDash Labs मा छवटा एआई उत्पादन निर्माण तथा बजारमा लैजान नेतृत्व गरे। तीमध्ये चार उत्पादनले बजार पाएनन्। पाँचौं उत्पादन ‘nocaap’ खुला स्रोत (Open Source) का रूपमा सार्वजनिक भए पनि व्यापक प्रयोगमा आउन सकेन। तर ती असफलताबाट सिक्दै विकास गरिएको अल्केमी भने कम्पनीको पहिलो सफल व्यावसायिक उत्पादन बनेको हो।

उनका अनुसार सफ्टवेयर बनाउनु कठिन थिएन, तर ग्राहकले वास्तवमै चाहेको समस्या समाधान गर्नु नै सबैभन्दा ठूलो चुनौती थियो। त्यसपछि उनले उत्पादन बनाउनु अघि १२५ भन्दा बढी व्यवसायी, साझेदार र परामर्शदातासँग प्रत्यक्ष संवाद गरेर उनीहरूले भोगिरहेका वास्तविक समस्याको अध्ययन गरे ।

एआईले विश्लेषकको काम खाँदैछ, सम्बन्धको मूल्य बढ्दैछ

नितेश पन्तको मुख्य तर्क छ— “AI ले विश्लेषक (Analyst) तहको काम तीव्र रूपमा प्रतिस्थापन गरिरहेको छ, तर निर्णय गर्ने, विश्वास निर्माण गर्ने र जिम्मेवारी लिने साझेदार (Partner) तहलाई प्रतिस्थापन गर्न सकेको छैन।”

उनका अनुसार अनुसन्धान, बजार विश्लेषण, प्रारम्भिक प्रतिवेदन तथा पहिलो मस्यौदा तयार गर्ने काम अहिले एआईले सहजै गर्न थालेको छ। तर अन्तिम निर्णय, ग्राहकसँगको सम्बन्ध, विश्वास र जिम्मेवारी भने अझै पनि मानिसकै हातमा रहनेछन ।

उनी भन्छन्, “जब विश्लेषण सस्तो हुन्छ, सम्बन्ध अझ मूल्यवान् बन्छ। एआईलाई न त मुद्दा हाल्न सकिन्छ, न जागिरबाट निकाल्न सकिन्छ, न त त्यसलाई सामाजिक रूपमा उत्तरदायी बनाउन सकिन्छ। अन्तिम निर्णयमा आफ्नो नाम राख्ने जिम्मेवारी मानिसकै हुन्छ।”

नेपालमा इन्जिनियरिङ, अमेरिका समस्या

अल्केमीको अर्को विशेषता यसको निर्माण संरचना हो ।

उत्पादनको समस्या र ग्राहक अमेरिका केन्द्रित भए पनि यसको अधिकांश इन्जिनियरिङ काठमाडौंस्थित नेपाली टोलीले गरिरहेको छ। कम्पनीको उद्देश्य नेपाललाई सस्तो श्रमशक्तिको केन्द्र होइन, विश्वस्तरीय उत्पादन निर्माण गर्ने राष्ट्रका रूपमा स्थापित गर्नु रहेको नितेश बताउँछन ।

DevDash Labs को आन्तरिक नारासमेत नेपाली भाषामै छ—

“दामी काम गरौं।”

अल्केमीको हालसम्मको प्रगति

सार्वजनिक विवरणअनुसार, जुलाई १३, २०२६ सम्म अल्केमीले:

* एक १४ सदस्यीय अमेरिकी परामर्श कम्पनीलाई पहिलो भुक्तानी गर्ने पाइलट ग्राहकका रूपमा प्राप्त गरेको छ ।
* ६ वटा गैर-बाध्यकारी आशयपत्र (Letter of Intent) प्राप्त गरेको छ ।
* करिब १६ संस्थाले उत्पादन प्रयोग गर्न खाता खोलेका छन्।
* २९ बाह्य संस्थाका प्रतिनिधिसँग ३१ वटा प्रत्यक्ष डेमो सम्पन्न भएका छन ।
* उत्पादन विकासअघि १२५ भन्दा बढी अनुसन्धानात्मक अन्तर्वार्ता सञ्चालन गरिएको थियो ।

धनगढीबाट सुरु भएको सपना

सन् २०१६ मा कक्षा १० मा अध्ययनरत हुँदा नितेशले एक विद्यार्थी सबै आठ आइभी लिग विश्वविद्यालयमा भर्ना भएको समाचार पढेका थिए। त्यसबेला उनलाई आइभी लिग के हो भन्नेसमेत थाहा थिएन ।

धनगढीमा SAT तयारी गर्ने वातावरण नभएपछि उनी काठमाडौं आएर पुस्तक किनेर आफैं तयारी गर्न थाले। पहिलो पटक १३८० र दोस्रो पटक १५१० अंक ल्याएपछि उनले डार्टमाउथ कलेजमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर पाए ।

कोभिड महामारीका बेला नेपाल फर्किएर उनले परिवारको अस्पताल निर्माण परियोजनामा पनि काम गरे। त्यस क्रममा उनले स्टिल संरचनामा नयाँ प्रविधि प्रयोग गर्दै निर्माण टोलीलाई तालिमसमेत दिएका थिए ।

विश्व बजारका लागि नेपाली उत्पादन

नितेश पन्त आफूलाई संस्थापक वा कम्पनी मालिकका रूपमा होइन, DevDash Labs का Product and Growth प्रमुखका रूपमा परिचय दिन रुचाउँछन ।

उनको विश्वास छ, नेपालका इन्जिनियरहरूले विश्वकै कठिन समस्या समाधान गर्ने स्तरका उत्पादन बनाउन सक्छन्। त्यसैको प्रमाणका रूपमा उनले अमेरिकी ग्राहकका लागि नेपालमै बसेर विश्वस्तरीय एआई उत्पादन विकास गरिरहेका छन ।

व्यावसायिक सेवा क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तीव्र बन्दै गएको वर्तमान समयमा धनगढीबाट सुरु भएको एक नेपाली युवाको यात्रा विश्व बजारका लागि प्रविधि निर्माण गर्ने नयाँ पुस्ताको प्रतिनिधि कथाका रूपमा उभिएको छ ।

Loading...