बागमती कांग्रेसको अपिल : बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिन आग्रह

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ ।


नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्दबहादुर बानियाँकाे सभापतित्वमा बसेकाे बैठकले रसुवा नुवाकोट, धादिङलगायतका जिल्लामा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहतलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको हाे ।


प्रदेश कार्यसमितिको भदौ ३० गते बसेको बैठकले बाढीबाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिएको हो । बैठकले बाढीका कारण घरबारविहीन भएका नागरिकका लागि अस्थायी तथा स्थायी पुनर्वास, खाद्यान्न, लत्ताकपडा, जीविकोपार्जन तथा मनोसामाजिक परामर्शको व्यवस्था गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारसँग अनुरोध गरेको छ ।


कार्यसमितिले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावित नागरिकको उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन आग्रह गरेको छ । साथै बाढीका कारण क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा अन्य पूर्वाधारको तत्काल पुनर्निर्माण र सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
विशेषगरी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई त्रिशूली नदी वारपार गर्न सहज वातावरण निर्माण गर्न यथाशीघ्र वैकल्पिक बाटो, भत्किएका पुल तथा बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याउन माग गरिएको छ ।
कार्यसमितिले विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजन तथा आफन्तप्रति समवेदना प्रकट गरेको छ ।
यसैगरी, नेपाली कांग्रेस बागमती प्रदेशले २०८३ असोज १६ देखि १९ गतेसम्म हुने पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन प्रदेशअन्तर्गतका जिल्ला, क्षेत्र, पालिका, वडा तथा टोल तहका नेता–कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरेको छ । नेपाली कांग्रेसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार महाधिवेशन असोज १६–१९ गते हुने तय भएको छ ।

 

बागमती प्रदेश कांग्रेसले यस विपद्को समयमा राजनीतिक तथा सामाजिक तहबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिएको छ । नेपाली कांग्रेसले यसअघि पनि भोटेकोशी बाढी प्रभावितका लागि राहत तथा पुनःस्थापनामा सहयोग गर्ने जनाएको थियो। ।

Loading...