काठमाडौ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले पार्टीको खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।बानियाँले काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा रहेको निर्वाचन कार्यालय पुगेर मंगलबार खुलातर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि महामन्त्री पदमा उम्मेदवारी दिने आकांक्षा राखेका बानियाँले मकवानपुरकै नेतृ महालक्ष्मी उपाध्याय ‘डीना’ले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेपछि खुलातर्फ केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन्। मंगलबार बिहान थापाथलीस्थित बानेश्वर हिल्समा आयोजित बागमती प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रममा बानियाँले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका थिए। त्यसपछि उनी निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। बानियाँको उम्मेदवारीमा सिरहा जिल्ला सभापति रामचन्द्र यादव, चितवन जिल्ला सभापति राजेश्वर खनाल र दोलखा जिल्ला सभापति बर्मा लामा प्रस्तावक रहेका छन्। त्यस्तै, नुवाकोट कांग्रेसका सभापति तथा बागमती प्रदेश सभा सदस्य रमेशकुमार महत, सिन्धुपाल्चोक–२ का क्षेत्रीय सभापति एवं बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ र मकवानपुरका प्रभातकुमार दाहाल समर्थक रहेका छन्। बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका बानियाँ यसअघि पार्टीको केन्द्रीय नेतृत्वमा महामन्त्रीका रूपमा जाने तयारीमा थिए। तर एउटै जिल्ला मकवानपुरबाट डीनाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेपछि उनले खुलातर्फ केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने बाटो रोजेका हुन्।