कैलाली – कैलाली कारागारमा शुक्रबार भएको हिंसात्मक झडपपछि एक कैदीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन । घटना भएको ३६ घण्टा बितिसक्दा पनि स्थानीय प्रशासनले कारागारभित्र स्थिति नियन्त्रण गर्न सकेको छैन। कैदीहरूले कारागारभित्र ताला लगाएर पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका छन् र सुरक्षाकर्मीलाई प्रवेश गर्न दिइएको छैन ।
प्रमुख जिल्ला अधिकारी हमालले भने, “अहिलेसम्म सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न पाएका छैनन्, हामी दिउँसो निरीक्षणमा जाने तयारी गरिरहेका छौँ।” उनले कैदीका आफन्तहरूले भेटघाट गरिरहेको जानकारी पनि प्राप्त भएको बताए ।
घटना पूर्व १४ साउनमा कैदीहरूले मानव अधिकार आयोगलाई पठाएको ध्यानाकर्षण पत्रमा आफूहरू असुरक्षित रहेको र कारागारको सुरक्षा व्यवस्थामा कमजोरी भएको उल्लेख गरिएको थियो। आयोगले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कारागार विभागलाई उचित सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइसकेको थियो ।
तर सुरक्षा व्यवस्था फितलो भएकै कारण शुक्रबार ब्लक ए मा रहेका कैदीहरूको समूहले ब्लक बी का कैदीहरूमाथि भित्ता फुटाउँदै आक्रमण गरेको थियो। यस आक्रमणमा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको छ भने ४९ घाइते भएका छन । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि काठमाडौं र सेती प्रादेशिक अस्पतालको आईसीयूमा राखिएको छ।
हाल १५० क्षमताको कैलाली कारागारमा करिब सात सय कैदी रहेका छन ।
कारागार घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरू छन ।