बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको १५औँ महाधिवेशन अब कुनै पनि हालतमा सार्न नसकिने बताएका छन् ।
बिहीबार बुटवलमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सञ्चालनमा ल्याएको सम्पर्क कार्यालय उद्घाटन गर्दै पुनले कानुनी व्यवस्थाका कारण पनि महाधिवेशन आगामी असोजमै सम्पन्न गर्नुपर्ने अवस्था रहेको बताएका हुन ।
उनले महाधिवेशनलाई मङ्सिरसम्म सार्ने कुनै सम्भावना नरहेको स्पष्ट पारे । अदालतमा मुद्दा विचाराधीन रहेकाले पनि महाधिवेशनको प्रक्रिया थप लम्ब्याउन नमिल्ने उनको भनाइ छ ।
‘अर्को पक्षले मुद्दा फिर्ता लिएर सहमति भएको अवस्थामा मङ्सिरसम्म लम्ब्याउन पार्टी नेतृत्वलाई छुट हुन सक्थ्यो । तर अब त्यो सम्भावना टरिसकेको छ,’ पुनले भने ।
उनका अनुसार कांग्रेसको वडा अधिवेशन असोज ३ गतेदेखि सुरु हुँदैछ । वडा अधिवेशनसँगै पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढ्ने उनले बताए ।
पुनले पार्टीभित्र देखिएका आन्तरिक समस्या र मतभेदलाई संवाद तथा सहमतिबाट समाधान गर्नुपर्नेमा जोड दिए । आगामी महाधिवेशनलाई गुट–उपगुटभन्दा माथि उठेर एकताको महाधिवेशनका रूपमा अघि बढाउनुपर्ने उनले बताए ।
‘पार्टीभित्रका आन्तरिक मतभेद संवादमार्फत टुङ्ग्याउँदै आगामी महाधिवेशनलाई एकताको अधिवेशनका रूपमा अघि बढाउनुपर्छ,’ पुनले भने ।
आगामी पार्टी नेतृत्वका विषयमा समेत धारणा राख्दै पुनले महामन्त्री गगनकुमार थापालाई सर्वसम्मत रूपमा सभापति बनाउन सके राम्रो हुने बताए । सर्वसम्मति सम्भव नभए प्रतिस्पर्धामार्फत थापालाई नेतृत्वमा ल्याउने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।
‘गगनकुमार थापालाई सर्वसम्मत बनाउने होस् वा प्रतिस्पर्धाबाटै नेतृत्वमा ल्याउने होस्, उहाँलाई सभापति बनाउने वातावरण हामीले सिर्जना गर्नुपर्छ,’ पुनले भने ।
सभापति पुनले आगामी महाधिवेशन हर्ष, उत्साह र एकताका साथ सम्पन्न गर्ने गरी तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य भरत शाहले पार्टीलाई केन्द्रमा मात्र सीमित नराखी जिल्ला, क्षेत्र र स्थानीय तहसम्म थप चलायमान बनाउनुपर्ने बताए । उनले संगठनलाई तल्लो तहसम्म सुदृढ र सक्रिय बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यहरू राधेश्याम पाठक, राजेन्द्रगोपाल श्रेष्ठ, रामबहादुर कार्की, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी तथा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले आफ्नो धारणा राखेका थिए ।
- Facebook Comments
- Comments