डडेल्धुरा । डडेल्धुराका २८ वर्षीय हरिशसिंह प्वालीको कैलाली जिल्ला कारागारमा शंकास्पद मृत्यु भएपछि डडेल्धुरामा बजार र यातायात बन्द भएको छ ।
डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिशसिंह प्वालीको मृत्यु भएपछि स्थानीयले घटनाको निष्पक्ष छानबिनको माग गर्दै डडेल्धुरा सदरमुकाम बजार र राजमार्ग बन्द गरेका छन ।

उद्योग वाणिज्य संघ डडेल्धुराका उपाध्यक्ष दीपक महताका अनुसार प्वालीको मृत्यु कारागारभित्रै प्रहरीले कुटपिट गरी हत्या गरेको आशङ्कामा बजार र यातायात अवरुद्ध गरिएको बताएका छन ।
यस्तै मृतकका दाइ जगदीश रावलले प्वालीलाई कारागारभित्रै यातना दिइएको दाबी गरेका छन ।
परिवार स्रोतका अनुसार प्वालीको शरीरभर निलडाम रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार सोमबार प्वाली एक्कासि बिरामी भएपछि उनलाई सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो ।

डीएसपी सिंहका अनुसार हालसम्म जाहेरी नआएका कारण पोस्टमार्टम भएको छैन। त्यसपछि अनुसन्धान अगाडि बढ्छ ।
प्वालीलाई कैलाली जिल्ला अदालतले २९ फागुनमा १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना फैसला गरेको थियो ।
सोही सजाय कार्यान्वयनका लागि अमरगढी नगरपालिका–५ तुफानडाँडाबाट पक्राउ गरिएको थियो। पक्राउपछिको दुई दिनमै उनको मृत्यु भएको हो ।
आफन्तका अनुसार पक्राउअघि प्वालीलाई कञ्चनपुरको महेन्द्रनगरमा पनि दुई घण्टा हिरासतमा राखिएको थियो। त्यही क्रममा प्रहरीले रकम असुली गरेको आरोप समेत आफन्तले लगाएका छन ।
