सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा आइतबारदेखि लगातार भारी वर्षा भइरहेको छ ।
डडेल्धुराको भित्रीमधेस सहित जिल्लाभरी,कञ्चनपुरको बेलौरी, कृष्णपुर र धनगढीमा अत्यधिक पानी परिरहेको छ। स्थानीय बासिन्दालाई सतर्क रहन सुरक्षाकर्मीहरूले आग्रह गरेका छन ।
डडेल्धुरा,कञ्चनपुर, डोटी र कैलालीका चुरे पहाडमा परेको वर्षाले त्यहाँबाट बग्ने खोलानदीमा पानीको बहाव बढेको छ ।
यसबाट तलका बस्तीहरूमा जोखिम उत्पन्न भएको हो । नागरिकहरूलाई नदी किनार, खोला आसपास र डुबान हुने स्थानहरूमा नजान आग्रह गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले पनि सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागमा अझै केही समय वर्षा जारी रहने पूर्वानुमान गरेको छ। महाशाखाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
