डडेल्धुरामा बोलेरो दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, तीन घाइते

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ५२ गुल्म डडेल्धुराका अनुसार शनिबार बिहान करिब ३:३० बजे धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८५० नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३००–४०० मिटर तल खसेको हो ।
दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का ४५ वर्षीय शुगन लोथ्याल र २८ वर्षीया हनु लोथ्याल को घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक बैतडीको डिलाशैनी गाउँपालिका–२ का २० वर्षीय अमृत घरेडी, दार्चुलाको मार्मा गाउँपालिका–३ का ५० वर्षीय अम्मर सिंह ठगुन्ना तथा अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्याल घाइते भएका छ ।

घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

Loading...