बागमती प्रदेश सरकारलाई निरन्तरता दिन अन्य दलसँग समन्वय गर्ने जिम्मा मुख्यमन्त्री बानियाँलाई

काठमाडौ  साउन १४ – नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले बागमती प्रदेश सरकारलाई निरन्तरता दिन आवश्यक राजनीतिक पहल गर्ने जिम्मेवारी संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सर्वसम्मत रूपमा दिएको छ ।


संसदीय दलको बैठकले नेकपा (एमाले) ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारमा सहभागी मन्त्रीहरूले समेत राजीनामा दिएको वर्तमान परिस्थितिमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिन प्रदेश सभामा रहेका सबै राजनीतिक दलसँग लिखित तथा मौखिक संवाद र समन्वय गरी आवश्यक समर्थन जुटाउने निर्णय गरेको हो ।

यसका लागि पार्टीको केन्द्रीय नेतृत्वसँग समन्वय गर्दै आवश्यक पहल गर्ने अधिकार मुख्यमन्त्री बानियाँलाई प्रदान गरिएको बैठकको निर्णयमा उल्लेख छ ।


बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै दिवंगत नेताको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

त्यसैगरी, कोशी प्रदेशको सुनसरी जिल्ला, देवानगञ्ज–कप्तानगञ्जमा भएको दुःखद घटनाप्रति पनि संसदीय दलले गहिरो दुःख व्यक्त गरेको छ । घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ । साथै कुनै पनि प्रकारको हिंसा, द्वन्द्व र सामाजिक तथा धार्मिक असहिष्णुता बढ्न नदिन सबै पक्षलाई धैर्य, संयम र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरिएको छ ।

Loading...