डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार रास्वपाले १९ हजार २६८ मत प्राप्त गर्दै जिल्लामा सबैभन्दा बढी मत हासिल गरेको हो ।
समानुपातिकतर्फ नेपाली कांग्रेसले ११ हजार ८५१ मत पाएको छ भने नेपाली कम्युनिष्ट पार्टीले ५ हजार ७७२, नेकपा (एमाले)ले ३ हजार २७५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ३९२ मत प्राप्त गरेका छन ।
जिल्लामा समानुपातिकतर्फ कुल ४६ हजार २११ मत खसेको थियो। त्यसमध्ये ४४ हजार १८६ मत सदर भएका छन् भने २ हजार २५ मत बदर भएका छन ।
यसअघि प्रत्यक्षतर्फ पनि डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका थिए। उनले १९ हजार १३१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत पाएका थिए। जोशीले महरलाई ७ हजार १० मतको फराकिलो अन्तरले पराजित गरेका हुन ।