दैजी–जोगबुढा सडक प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री भट्ट

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दैजी–जोगबुढा सडकलाई प्रदेश सरकारको प्राथमिकतामा राखेर अघि बढाइने बताउनुभएको छ।
नेपाल पत्रकार महासंघ डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेशका महत्वपूर्ण तथा रणनीतिक योजनालाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभएको हो।
मुख्यमन्त्री भट्टले प्रदेशमा देखिएको बजेटविहीनताको अवस्थाको अन्त्य गर्दै फास्ट ट्र्याकबाट नयाँ बजेट ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले विगतका बेथिति र कमजोरीलाई सुधार गर्दै जनताले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्ने गरी बजेट निर्माण गरिने बताउनुभयो ।
“जनताले परिवर्तनको अनुभूति गर्ने गरी बजेट आउँछ,” मुख्यमन्त्री भट्टले भन्नुभयो, “राम्रा सुरुवातलाई आत्मसात् गर्दै विगतमा देखिएका बेथितिको अन्त्य गरेर बजेटलाई आम नागरिकको अपनत्व हुने गरी निर्माण गर्छौँ।”
उहाँका अनुसार नयाँ बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटनलगायत प्रदेशका महत्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखिनेछ। दुर्गम तथा सीमान्तकृत समुदायका आवश्यकता र जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई समेत बजेटमा समेटिने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री भट्टले बजेटको पुनर्लेखन गरिने उल्लेख गर्दै प्रदेशको आवश्यकता र जनताको अपेक्षालाई केन्द्रमा राखेर नयाँ आयामसहित बजेट अघि बढाइने बताउनुभयो। विगतका कमजोरी सच्याउँदै आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरिने उहाँको भनाइ छ ।
दैजी–जोगबुढा सडकलाई प्रदेशको महत्वपूर्ण रणनीतिक योजनाका रूपमा अघि बढाइने बताउँदै उहाँले सडक निर्माण तथा स्तरोन्नतिको कामलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, प्रदेश राजधानी निर्माणको कामसमेत यसै वर्षदेखि सुरु गरिने मुख्यमन्त्री भट्टले बताउनुभयो। राजधानी निर्माण केवल भौतिक संरचना निर्माणमा सीमित नभई सुदूरपश्चिमको मौलिकता, पहिचान र सम्भावनालाई स्थापित गर्ने अभियानका रूपमा अघि बढाइने उहाँको भनाइ छ ।
मुख्यमन्त्री भट्टले नयाँ बजेटमार्फत विगतका अभ्यास र कमजोरी सुधार गर्दै प्रदेशको विकासमा नयाँ आयाम थपिने दाबी गर्नुभयो। जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर बजेट निर्माण गरिने उहाँले स्पष्ट पार्नुभएकाे छ ।

Loading...