डडेल्धुरामा सम्पन्न १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड अमरगढी नगरपालिका जित्याे

डडेल्धुरा । डडेल्धुराको अमरगढी-४ स्थित टुँडिखेलमा सम्पन्न भएको  १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितमा अमरगढी नगरपालिकाले सिल्ड जितेकाे  छ । बुधबार उदघाटन गरिएको प्रतियोगिता  बिहिवार सम्पन्न भएकाे थियाे ।

 

बुधबार उदघाटन गरिएको प्रतियोगिता बिहिबार अमरगढी  नगरपालिकाका प्रमुख डिल्लिराज जोशीले प्रमुख अतिथिको रूपमा प्रतियोगिताको समापन गर्नुभएको हो ।  समापन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख जोशीले खेलकुदले युवाहरूको शारीरिक र मानसिक विकासमा टेवा पुऱ्याउने उल्लेख गर्दै विजेता खेलाडीहरूलाई आगामी प्रदेश स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्नुभयो। प्रमुख जोशिले प्रतियोगिता विद्यालय स्तरमा लुकेका प्रतिभाहरूलाई पहिचान गरी उनीहरूलाई राष्ट्रिय स्तरसम्म पुऱ्याउने एउटा महत्त्वपूर्ण खुड्किलो सावित हुने बताउनुभयो  । प्रतियोगिताको अन्तिम नतिजा अनुसार

अमरगढीले २९ स्वर्ण १२ रजत र १० कास्य पदक जित्दै प्रथम स्थान हासिल गर्न सफल भयो । त्यस्तै, ११ स्वर्ण १५ रजत १४ कास्य सहित परशुराम नगरपालिकाले दोस्रो स्थान प्राप्त गर्‍यो भने ७ स्वर्ण ६ रजत १८ कास्य सहित आलिताल गाउँपालिका तेस्रो स्थानमा रहन सफल भयो। अजयमेरु गाउँपालिकाले ५ स्वर्ण, भागेश्वर गाउँपालिकाले २ स्वर्ण प्राप्त गर्दा गन्यापधुरा र नवदुर्गा गाउँपालिकाले भने स्वर्ण पदक जित्न सकेनन् । प्रतियोगितामा भलिबल, कवड्डी, एथलेटिक्सका विभिन्न दौडहरू, हाइजम्प, लङजम्प र मार्सल आर्ट जस्ता विधाहरूमा विद्यार्थीहरूले आफ्नो कौशल प्रदर्शन गरेका थिए ।

​यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जगत ऐरको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा विभिन्न पालिकाका प्रमुख, उपप्रमुख र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। खेलको अन्त्यमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न बिधामा मेडल, प्रमाणपत्र र ट्रफीले सम्मानित गरिएको थियो। यहाँबाट छनोट भएका प्रतिभाशाली खेलाडीहरूले अब प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

Loading...