काठमाडौं । भारतको पाँचदिने भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन । भेटवार्ता मंगलबार नयाँ दिल्लीमा भएको हो ।

“आज दिल्लीमा नेपालको रास्वपाका अध्यक्ष रवि लामिछाने र उनको प्रतिनिधिमण्डललाई भेट्न पाउँदा खुसी लाग्यो,” भेटवार्तापछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “हाम्रो छलफल भारत–नेपाल विकास साझेदारी र जनता–जनता सम्बन्धमा केन्द्रित थियो । विकास र समृद्धिलाई प्रवर्द्धन गर्न यिनीहरूको महत्त्वपूर्ण भूमिका छ ।”

रास्वपा सभापति लामिछाने पाँचदिने भारत भ्रमणको सिलसिलामा सोमबार नयाँ दिल्ली गएका थिए । उनी मंगलबार भारतीय जनता पार्टी (भाजपा)को मुख्यालय पनि गएका थिए । त्यहाँ उनले भाजपाका अध्यक्ष नितिन नविनसँग भेटवार्ता गरेका थिए ।
