डडेल्धुरा । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल परशुराम नगर इकाइ समिति जोगबुडाको आयोजनामा एक दिवसीय नगर प्रशिक्षण वर्ग तथा नगर इकाइ समिति चयन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा परशुराम नगर क्षेत्रका तीन वटा क्याम्पस तथा माध्यमिक विद्यालयबाट ५५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा परशुराम नगरपालिकाकी शिक्षा शाखा प्रमुख लक्ष्मी बिष्टको उपस्थिति रहेको थियो ।
त्यसैगरी विशिष्ट अतिथिका रूपमा सिद्धनाथ माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक केहर सिंह बडैला, प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष आत्माराम खतिवडा तथा प्रदेश सदस्य कृष्ण धामीको उपस्थिति रहेको थियो। कार्यक्रममा नगर सचिव विष्णु बडायर, ममता भट्टलगायत परिषद्का कार्यकर्ता तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रशिक्षण वर्गमा विद्यार्थी जीवन, संगठनको उद्देश्य, नेतृत्व विकास, अनुशासन, संस्कार, सामाजिक उत्तरदायित्व तथा राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका लगायतका विषयमा प्रशिक्षण तथा प्राज्ञिक विमर्श गरिएको थियो। वक्ताहरूले विद्यार्थीहरूलाई **‘ज्ञान, शील र एकता’**को मूल मर्मलाई आत्मसात् गर्दै समाज र राष्ट्रप्रति जिम्मेवार, अनुशासित तथा सक्रिय नागरिकका रूपमा अघि बढ्न प्रेरित गरेका थिए ।
कार्यक्रममा अतिथिहरूले नवगठित नगर इकाइ समिति तथा सहभागी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै परिषद्को उद्देश्य र आदर्शअनुरूप इमानदारी, अनुशासन, सामाजिक उत्तरदायित्व र सक्रियताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिए।
कार्यक्रमले परशुराम नगर क्षेत्रका विद्यार्थीहरूमा नेतृत्व क्षमता, सामाजिक चेतना, संस्कार र राष्ट्रप्रतिको उत्तरदायित्व विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएकाे छ ।