एनपीआरसीए अमेरिकाको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै चन्द्र धितालद्वारा १० बुँदे प्रतिबद्धता सार्वजनिक

 

काठमाडौं  साउन १९ ।  नेपाली जनसम्पर्क समिति, अमेरिका (NPRCA) का वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र धितालले आफ्नो उम्मेदवारीसँगै संगठन सुदृढीकरणका लागि १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।

धितालले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाका लागि नभई संगठनलाई अझ बलियो, लोकतान्त्रिक, पारदर्शी र सबै सदस्यको अपनत्व हुने साझा संस्थाका रूपमा विकास गर्ने उद्देश्यले दिएको बताएका छन्। सदस्यहरूको विश्वास र समर्थन प्राप्त भए वरिष्ठ उपाध्यक्षको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै संगठनलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

उनले सार्वजनिक गरेको प्रतिबद्धतामा संगठनभित्र एकता, विश्वास र सहकार्यको वातावरण निर्माण, पारदर्शी तथा जवाफदेही नेतृत्व, अमेरिकाभर रहेका सबै अध्यायसँग समान समन्वय र संवाद, युवा, महिला तथा नयाँ पुस्ताको नेतृत्व विकास, सदस्यता विस्तार तथा संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ।

त्यस्तै, प्रवासी नेपालीहरूको हक–हितका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने, सूचना प्रविधिमैत्री तथा आधुनिक संगठन निर्माण गर्ने, नेपाली कांग्रेसको लोकतान्त्रिक सिद्धान्त र मूल्यलाई प्रवासमा अझ प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने, सामूहिक नेतृत्व र संस्थागत निर्णय प्रक्रियालाई सुदृढ बनाउने तथा पदभन्दा सेवालाई प्राथमिकता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

धितालले संगठनलाई विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार सञ्चालन गर्दै सबै सदस्यको सहभागितामा सशक्त र एकताबद्ध नेपाली जनसम्पर्क समिति निर्माण गर्ने आफ्नो लक्ष्य रहेको उल्लेख गरेका छन्।

उम्मेदवार धितालले सम्पूर्ण सदस्य, अग्रज, साथी तथा शुभेच्छुकहरूसँग आफ्नो पक्षमा मतदान गरी साथ, सहयोग र विश्वास प्रदान गर्न आग्रह गरेका छन्। उनले सबैको साझा प्रयासबाट मात्र पारदर्शी, जिम्मेवार र प्रभावकारी संगठन निर्माण सम्भव हुने विश्वास व्यक्त गर्दै आफ्नो चुनावी अभियानलाई सकारात्मक ढंगले अघि बढाउने बताएका छन्।

Loading...