ललितपुर । दक्षिण ललितपुरका दुर्गम क्षेत्रका महिला तथा युवाको प्रतिनिधित्व गर्दै नेपाल विद्यार्थी संघकी निवर्तमान केन्द्रीय सदस्य सुमित्रा घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेकी छन ।

ललितपुर क्षेत्र नम्बर १ अन्तर्गत महाङ्काल गाउँपालिका–१, बुखेल स्थायी घर भएकी घिमिरेले पद्मकन्या बहुमुखी क्याम्पसबाट आफ्नो विद्यार्थी राजनीति यात्रा सुरु गरेकी हुन्। मानविकी संकायमा अध्ययनका क्रममा कक्षा प्रतिनिधि (Class Captain) हुँदै नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीतिमा प्रवेश गरेकी उनले विद्यार्थीका प्रशासनिक तथा शैक्षिक समस्या समाधानका लागि काम गरेको बताएकी छन्।
पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय घिमिरेले पद्मकन्या बहुमुखी क्याम्पसमा विभिन्न कार्यक्रम सञ्चालनमा भूमिका निर्वाह गर्दै विद्यार्थी तथा गुरुहरूको प्रेरणाको स्रोत बन्ने प्रयास गरेको बताइन्। विद्यालय तहदेखि नै अध्ययनमा अब्बल रहेको बताउने उनले युवाले औपचारिक शिक्षासँगै बाहिरी ज्ञान र व्यावहारिक सीपसमेत हासिल गर्नुपर्ने धारणा राख्छिन्। कविता प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको तथा गुरु पूर्णिमा लगायतका कार्यक्रममार्फत शिक्षक–गुरुको सम्मान गर्दै आएको उनको भनाइ छ।
महाङ्काल क्षेत्रमा बाढीपहिरोको समयमा स्थानीय नागरिकलाई लक्षित गरी स्वास्थ्य सामग्री तथा औषधि सहयोगसमेत गरेको घिमिरेले बताएकी छन्। महाङ्काल पूर्वविद्यार्थी संघको सदस्यका रूपमा समेत सक्रिय रहँदै उनले गाउँपालिकाका विद्यार्थीलाई सहयोग गर्दै आएको बताइन्।
हाल स्नातक तहको अध्ययन पूरा गरेकी घिमिरे पाटन संयुक्त क्याम्पसमा अंग्रेजी विषय लिएर अध्ययनरत छिन्। बदलिँदो परिस्थितिसँगै नेपाली कांग्रेसभित्र पनि अग्रजलाई सम्मान गर्दै युवा तथा महिलालाई उचित स्थान र जिम्मेवारी दिनुपर्ने उनको धारणा छ।
दक्षिण ललितपुरका महिलाहरू भौगोलिक विकटताका कारण अझै पनि पछाडि परेको उल्लेख गर्दै घिमिरेले उनीहरूको व्यक्तित्व तथा नेतृत्व विकाससँगै सीपमूलक र रोजगारीमूलक तालिमको व्यवस्था गर्नुपर्ने बताएकी छन्। महिला सशक्तीकरणमार्फत उनीहरूको जीवनस्तरमा सुधार ल्याउन पार्टी र राज्य दुवैले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
नेपालको संविधानले राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरे पनि त्यसको पूर्ण कार्यान्वयन व्यवहारमा हुन नसकेकोमा उनले असन्तुष्टि व्यक्त गरिन्। सुगम क्षेत्रका महिलालाई मात्र नभई दुर्गम तथा पिछडिएका क्षेत्रका महिलालाई पनि पार्टीको निर्णायक भूमिकामा अवसर दिनुपर्ने उनले बताइन ।
घिमिरेले कांग्रेसभित्रको आन्तरिक मतभेद अन्त्य गर्दै समन्वय, सहकार्य र एकताका माध्यमबाट पार्टीलाई बलियो बनाएर अघि बढाउनुपर्नेमा जोड दिएकी छन्। युवा सहभागिता वृद्धि, पार्टीभित्र रूपान्तरण, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, वैचारिक सुदृढीकरण, संगठनात्मक गतिशीलता र निष्ठावान् कार्यकर्ताको सम्मानका लागि आफू महाधिवेशन प्रतिनिधिको रूपमा अघि बढेको उनको भनाइ छ ।
महाङ्काल गाउँपालिका–१, बुखेलबाट क्षेत्रीय प्रतिनिधि बनेकी घिमिरेले आफूलाई क्षेत्रीय प्रतिनिधि बनाउन भूमिका खेल्ने सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरेकी छन ।
उनले भनिन्, “म जन्मिँदा पनि कांग्रेस थिएँ, अहिले पनि कांग्रेस हुँ र भोलि पनि कांग्रेसकै कार्यकर्ता हुनेछु।”
पहिलोपटक क्रियाशील सदस्यता पाए पनि २०६४ सालदेखि नै कांग्रेसलाई मतदान गर्दै आएको उनले बताइन्। पारिवारिक रूपमा समेत कांग्रेससँग जोडिएकी घिमिरेले आफ्ना पिता कृष्णप्रसाद भट्टराईको आदर्श र राजनीतिक प्रेरणाबाट कांग्रेसको विचार तथा राजनीतितर्फ आकर्षित भएको बताइन्। उनका अनुसार उनका पिता वि.सं. २०४६ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए ।
योग्यता, क्षमता र दक्षता भएका महिला तथा युवाले पार्टीभित्र उचित स्थान पाउनुपर्ने घिमिरेको धारणा छ। समाजसेवा र राजनीतिमार्फत देशको सेवा गर्ने आफ्नो लक्ष्य रहेको उनले बताएकी छन ।
महिलाहरू अब घरभित्रको चुलो–चौकोमा मात्र सीमित नभई राजनीति, प्रशासन, कानुनलगायत हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा आउनुपर्ने उनको भनाइ छ। शिक्षित, सक्षम र स्वविवेकका साथ निर्णय लिन सक्ने महिलाले अवसर पाए समाज परिवर्तन र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिन सक्ने उनले बताइन् ।
पार्टीको विधान तथा निर्वाचन निर्देशिकाले युवा, महिला, अल्पसंख्यक, दलित तथा पिछडिएका क्षेत्रलाई समेट्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले महिलालाई कार्यसम्पादनदेखि निर्णायक भूमिकासम्म पुग्न पार्टीका पुरुष सहकर्मीले समेत साथ र सहयोग गर्नुपर्ने बताएकी छन ।
महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी घोषणा गरेकी घिमिरेले ललितपुर क्षेत्र नम्बर १ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई आफ्नो अमूल्य मतमार्फत सहयोग गरी विजयी गराउन अपिल गरेकी छन्।