डडेल्धुरा । लगातार भइरहेको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लामा सवारी साधनको आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बाढी तथा पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो ।
लगातारको वर्षाका कारण जिल्लाका विभिन्न सडकखण्डमा बाढी, पहिरो तथा सडक अवरुद्ध हुने सम्भावना रहेकाले यात्रु तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनले जोखिमपूर्ण अवस्थामा अनावश्यक यात्रा नगर्न तथा प्रशासनबाट जारी हुने सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यस अवधिमा आकस्मिक तथा अत्यआवश्यक अवस्थामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय डडेल्धुरा जानकारी गर्नुपर्ने छ ।
सडकको अवस्था तथा मौसममा सुधार आएपछि सवारी साधन सञ्चालनबारे थप निर्णय गरिने जनाइएको छ ।