छ महिनासम्म सञ्चालन भएको अभियानबाट नागरिकका समस्या, आवश्यकता र विकासका सम्भावना पहिचान गरिएको अर्थ समिति सभापति डा. कृष्णहरि बुढाथोकीको भनाइ
रामेछाप। रामेछापका आठवटै स्थानीय तहका ६४ वटै वडा तथा २२६ गाउँबस्ती समेटेर सञ्चालन गरिएको ‘जनतामाझ जनप्रतिनिधि’ कार्यक्रमको पहिलो चरण सम्पन्न भएको छ।

प्रतिनिधिसभा सदस्य तथा सङ्घीय संसद्को अर्थ समिति सभापति डा. कृष्णहरि बुढाथोकीले विगत छ महिनादेखि सञ्चालन गरेको उक्त अभियानमार्फत जिल्लाका विभिन्न गाउँबस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट, छलफल तथा अन्तरक्रिया गरेका हुन ।
जनताका समस्या, आवश्यकता, सुझाव र अपेक्षा प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बुढाथोकीले बताए। प्रतिनिधिसभामा निर्वाचित भएपछि आफूले जनतासँग नियमित संवाद गर्ने प्रतिबद्धताअनुसार जिल्लाका सबै स्थानीय तह, वडा र गाउँबस्तीमा पुगेर नागरिकका कुरा सुन्ने प्रयास गरेको उनको भनाइ छ।

अभियानका क्रममा गाउँबस्ती, विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय, व्यावसायिक प्रतिष्ठान तथा विभिन्न सामूहिक जमघटमा पुगेर स्थानीयका समस्या र सरोकारका विषयमा छलफल गरिएको थियो। साथै उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी, बौद्धिक वर्ग, जनप्रतिनिधि तथा कर्मचारीसँग रामेछापको विकासका सम्भावना, चुनौती र समाधानका उपायबारे अन्तरक्रिया गरिएको थियो।

बुढाथोकीका अनुसार अभियानबाट जिल्लाको वास्तविक अवस्था, नागरिकका आवश्यकता तथा विकासका प्राथमिकताबारे महत्त्वपूर्ण जानकारी प्राप्त भएको छ। स्थानीय नागरिकले दिएका सुझाव र गुनासाले आगामी दिनमा नीति निर्माण तथा विकासका योजना तय गर्न सहयोग पुग्ने उनको विश्वास छ।
अभियानका क्रममा प्राप्त नागरिकका समस्या र सुझावलाई आफूले सङ्घीय संसद्मा उठाउँदै आएको बुढाथोकीले बताए। त्यस्ता विषयलाई सम्बन्धित मन्त्रालय तथा सरकारी निकायमा लिखित र मौखिक रूपमा प्रस्तुत गर्नुका साथै संसदीय समितिमार्फत पनि सम्बोधनका लागि पहल गरिरहेको उनले जानकारी दिए।

रामेछापको विकास, समृद्धि र सुशासनका लागि आफू निरन्तर क्रियाशील रहने बताउँदै उनले जनताका समस्या र आवश्यकतालाई सम्बन्धित निकायसम्म पुर्याउने कामलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
अभियान सफल बनाउन सहयोग गर्नेप्रति आभार
कार्यक्रम सफल बनाउन सहयोग गर्ने रामेछापवासी, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ता र सहयोगीहरूप्रति बुढाथोकीले आभार व्यक्त गरेका छन ।
अभियानमा सहयोग गर्ने केन्द्रीय तथा प्रदेश तहका सदस्य, जिल्ला, पालिका र वडा समितिका पदाधिकारी तथा सदस्यहरूलाई उनले धन्यवाद दिएका छन ।
त्यसैगरी स्वकीय सचिवहरू दिनेश सुवेदी, विपेश खत्री, राजकुमार खड्का र राजेन्द्र क्षेत्रीलगायत सहयोगी तथा सवारीसाधन उपलब्ध गराएर अभियानमा साथ दिने प्रबिन खड्का, नवराज बस्नेत, विष्णु कार्की, महेश लामा, सन्जय कार्की, नरबहादुर कार्की र अभिजग थापाप्रति पनि उनले विशेष आभार व्यक्त गरेका छन ।
पहिलो चरणको अभियान सम्पन्न भए पनि जनतासँगको संवाद र सहकार्यलाई निरन्तरता दिने बुढाथोकीले बताएका छन्। जनताका समस्या संसद्मा उठाउने तथा विकास र सुशासनका लागि पहल गर्ने प्रतिबद्धता उनले दोहोर्याएका छन ।