बेनी-दरबाङ सडक अवरुद्ध

म्याग्दी) । पश्चिम म्याग्दीको बेनी-दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ खसेको पहिरोका कारण बेनी-दरबाङ सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकाले यात्रुले सास्ती खेप्न बाध्य छन ।

बिरामीलाई बोकेर पहिरो पार गराउने गरिएको छ । यात्रु जोखिम मोलेर पहिरो पार गरी आ-आफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन् । पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी-दरबाङ सडकखण्ड शुक्रबारदेखि अवरुद्ध भएको हो ।

उक्त सडक खण्डको बेनी नगरपालिका-४ सिङ्गा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका-६ को बाङ्गेभिर र मङ्गला गाउँपालिका-२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

उक्त सडकखण्डलाई म्याग्दीको ‘लाइफलाइन’का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ । फापरखेतको खोल्सोबाट झर्ने पुरानो पहिरोले सताइरहने सो सडकखण्डमा लाम्पाटा रणबाङ क्षेत्रमा नयाँ पहिरो झर्न सुरु भएको हो ।

पहिरोका कारण बेनीबाट दरबाङतर्फ जाने सवारीसाधन र दरबाङदेखि बेनीतिर जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन । करिब १८ वर्षअघि सडक खन्नुअघि नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेक छ ।

 

Loading...