डडेल्धुरा : गत भाद्र २८ गते परेको अविरल वर्षाका कारण खोलाले बगाएर बेपत्ता भएकी प्रतिभा धामीको परिवारलाई राहत वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले बेपत्ता धामीका परिवारलाई दुई लाख रूपैयाँ आर्थिक सहयोग गरेको हो । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले दुई लाखको चेक बेपत्ता धामीका बाजे रधुवा धामीलाई प्रतिभा अध्ययनर विद्यालयमा पुगेर हस्तान्तरण गरेका हुन ।
विपद्का कारण मृत्यु भएका र बेपत्ता परेका व्यक्तिका परिवारलाई नेपाल सरकार गृह मन्त्रालययबाट क्रिया खर्च बाफतको रकम बेपत्ता धामीका परिवारलाई हस्तान्तरण गरिएको प्रजिअ न्यौपानेले बताए ।
परशुराम नगरपालिका डडेल्धुराका उपप्रमुख बिमला महताले मृतक परिवारलाई नगर स्तरीय विपद् व्यवस्थापन समितिले पनि सहयोग गर्ने आश्वासन दिइन ।
भाद्र २८ गते शुक्रबार बिहान परशुराम नगरपालिका–८ धनुकेकी १५ वर्षीया छात्रा धामी घर नजिकैको बैजनाथ माध्यमिक विद्यालयमा ट्यूसन पढ्न जाने क्रममा जम्रानी खोलाले बगाएर बेपत्ता भएकी थिइन ।
उनकाे खाेजी कार्य भइरहेकाे भएपनि शव अझै फेला परेकाे छैन ।
