सोलुखुम्बुको फेरुचेमा हेलिकप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु, एक घाइते

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मंगलबार बिहान हेलिकप्टर अवतरण गर्ने क्रममा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर एकआपसमा ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार बिहान ८ बजेर ११ मिनेटमा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका व्यक्तिलाई उद्धार गरी थप उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ।
दुई हेलिकप्टर अवतरणका क्रममा कसरी ठोक्किए भन्ने विषयमा थप विवरण आउन बाँकी छ। दुर्घटनाको कारण र अन्य क्षतिको विवरणबारे सम्बन्धित निकायले अनुसन्धान तथा जानकारी संकलन गरिरहेको छ।

Loading...