पाकिस्तान–चीन सम्बन्ध थप मजबुत बनाउन अनुसन्धान केन्द्र स्थापना

इस्लामाबाद । पाकिस्तान र चीनबीचको ऐतिहासिक मित्रता, रणनीतिक साझेदारी तथा राजनीतिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले पाकिस्तानमा ‘पाकिस्तान–चीन अनुसन्धान केन्द्र फर पार्टी एण्ड स्टेट गभर्नेन्स’ स्थापना गरिएको छ।
सन् २०२६ नोभेम्बर १ मा इस्लामाबादस्थित एक स्थानीय होटलमा आयोजित विशेष कार्यक्रममा उक्त अनुसन्धान केन्द्रको उद्घाटन गरिएको हो। कार्यक्रममा पाकिस्तानका सिनेट अध्यक्ष सैयद युसुफ रजा गिलानी, खैबर पख्तुनख्वाका गभर्नर फैसल करीम कुन्डी तथा पाकिस्तानका लागि चिनियाँ राजदूत जियाङ जैदोङलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
चीनको कम्युनिस्ट पार्टी (सीपीसी) र उसका पाकिस्तानी मित्रहरूबीचको आदानप्रदान कार्यक्रमका रूपमा आयोजना गरिएको उक्त कार्यक्रममा चीनको कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइक्सिङ सहभागी भएका थिए।
पाकिस्तान–चीन आर्थिक तथा सांस्कृतिक परिषद् (पीसीईसीसी) को आयोजनामा सम्पन्न कार्यक्रममा दुई देशबीचको ७५ वर्ष लामो कूटनीतिक सम्बन्ध, आपसी विश्वास, मित्रता र सहकार्यका विषयमा चर्चा गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ मन्त्री लिउ हाइक्सिङले चीन र पाकिस्तानबीचको सम्बन्धलाई कठिन परिस्थितिमा समेत एकअर्काको साथमा उभिने उदाहरणीय मित्रताका रूपमा व्याख्या गरे। उनले दुई देशबीच राजनीतिक पारस्परिक विश्वास, आपसी लाभ, साझा हित र जनस्तरको सम्बन्ध निरन्तर विस्तार हुँदै गएको बताए।
पाकिस्तान भ्रमणका क्रममा आफूले पाएको न्यानो स्वागतप्रति आभार व्यक्त गर्दै उनले दुई देशबीच विभिन्न तहमा आपसी भ्रमण, संवाद र आदानप्रदानलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए।
उनले पाकिस्तानमा अनुसन्धान केन्द्र स्थापना हुनु दुई देशबीचको राजनीतिक, सामाजिक तथा आर्थिक सहकार्यलाई संस्थागत रूपमा अगाडि बढाउने महत्त्वपूर्ण कदम भएको बताए। साथै, चीन र पाकिस्तानका राजनीतिक दलहरू तथा विभिन्न सामाजिक–आर्थिक क्षेत्रका संस्थाहरूबीच घनिष्ठ सम्बन्ध र सहकार्य आवश्यक रहेको उल्लेख गरे।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र पाकिस्तानी नेतृत्वको रणनीतिक मार्गदर्शनमा दुई देशबीचको ‘अल वेदर स्ट्राटेजिक कोअपरेटिभ पार्टनरसिप’ अर्थात् सबै मौसममा कायम रहने रणनीतिक सहकार्य निरन्तर गहिरिँदै गएको पनि उनले बताए।
उनका अनुसार चीन र पाकिस्तान साझा भविष्यसहितको समुदाय निर्माण गर्ने लक्ष्यका साथ अघि बढिरहेका छन्। नयाँ अनुसन्धान केन्द्रले दुई देशका राजनीतिक दल, सरकारी निकाय तथा विभिन्न संस्थाबीच अनुभव आदानप्रदान, नीति अनुसन्धान र शासन प्रणालीसम्बन्धी सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
उक्त कार्यक्रमले पाकिस्तान र चीनबीचको ७५ वर्ष लामो मित्रतालाई थप सुदृढ बनाउनुका साथै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Loading...