श्रीलंका, मलेसिया र जापानका नेपाली दूतावासको अध्ययन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए

काठमाडौ । कूटनीतिक नियोगको अवस्था, नेपाली नागरिकका समस्या र सेवा प्रवाहबारे अध्ययन; प्राप्त निष्कर्ष संसदीय समितिमा प्रस्तुत गरिने
श्रीलंका, मलेसिया र जापानस्थित नेपाली राजदूतावासहरूको अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरी सम्बन्धित संसदीय प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ।
तीन देशमा रहेका नेपाली राजदूतावासको भ्रमण, सम्बन्धित पक्षसँगको छलफल तथा अन्तरक्रियापछि भ्रमण उपलब्धिमूलक र महत्वपूर्ण अनुभवसहित सम्पन्न भएको जनाइएको छ।
भ्रमणका क्रममा नेपाली राजदूतावासहरूको भौतिक पूर्वाधार, जनशक्तिको अवस्था, आर्थिक तथा प्रशासनिक व्यवस्थापन, सेवा प्रवाह र कार्यसम्पादनका विषयमा गहन अध्ययन तथा छलफल गरिएको थियो।
त्यसैगरी, ती देशमा रहेका नेपाली नागरिकहरूको अवस्था, उनीहरूले भोग्नुपरेका समस्या, अध्ययन तथा रोजगारीका अवसर र चुनौती, व्यापारिक गतिविधि तथा नेपालको द्विपक्षीय कूटनीतिक सम्बन्धका विविध पक्षबारे जानकारी लिइएको थियो। सम्बन्धित निकायसँग यस विषयमा विचार आदानप्रदानसमेत गरिएको भ्रमणमा सहभागीले बताएका छन्।
विदेशमा रहेका नेपाली नागरिक नेपालको राष्ट्रिय पहिचान, श्रम, सीप, ज्ञान, पुँजी र सम्भावनाका महत्वपूर्ण स्रोत भएको उल्लेख गर्दै उनीहरूको हकहित संरक्षण, समस्या समाधान, सुरक्षित रोजगारी, सहज कन्सुलर सेवा तथा सम्मानजनक जीवनयापन सुनिश्चित गर्नु राज्यको महत्वपूर्ण दायित्व रहेको भ्रमणमा जोड दिइएको छ।
यसका लागि नेपाली कूटनीतिक नियोगहरू सक्षम, स्रोतसाधनयुक्त, प्रविधिमैत्री र उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याइएको छ।
भ्रमणका क्रममा देखिएका समस्या, प्राप्त सुझाव तथा अध्ययनका निष्कर्षहरूलाई व्यवस्थित रूपमा संसदीय समितिमा प्रस्तुत गरिने जनाइएको छ। साथै, आवश्यक नीतिगत, संस्थागत, जनशक्तिगत तथा बजेटीय सुधारका लागि संसदीय समितिमार्फत सरकारलाई सुझाव तथा निर्देशन दिन पहल गरिने बताइएको छ।
कूटनीतिक नियोगहरू केवल औपचारिक सम्बन्ध कायम गर्ने निकाय मात्र नभई विदेशमा रहेका नेपाली नागरिकका लागि राज्यको उपस्थिति, भरोसा र अभिभावकत्व अनुभूति गराउने महत्वपूर्ण संस्था भएको भ्रमणको निष्कर्ष रहेको छ।
विदेशमा रहेका प्रत्येक नेपालीले आफ्नो देश र सरकारलाई नजिकबाट अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै भ्रमणबाट प्राप्त अनुभव र निष्कर्षलाई व्यवहारमा रूपान्तरण गर्न संसदीय समिति र सरकारबीच प्रभावकारी समन्वय र पहल आवश्यक रहेको बताइएको छ।

Loading...