डडेल्धुरामा ‘रमसिला तेल’ बजारमा

डडेल्धुरा : फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारण सभाको अवसर पारेर ‘रमसिला तेल’ बजारमा ल्याएको छ ।

आज (शनिबार) आयोजित कार्यक्रममा उक्त तेलको औपचारिक शुभारम्भ गरिएको हो । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विरबहादुर थापाले उद्योग उद्घाटन तथा तेलको बजारीकरण शुभारम्भ गरेका थिए ।

फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडका सञ्चालक समिति अध्यक्ष धर्म ऐरका अनुसार भटमासबाट उत्पादित रमसिला तेल उच्च गुणस्तरयुक्त तथा स्वास्थ्यका लागि लाभदायक छ ।

कम्पनीले स्थानीय स्रोत र कच्चा पदार्थको अधिकतम उपयोग गर्ने लक्ष्यसहित यो उत्पादन बजारमा ल्याएको उनले बताए ।

तेलसँगै सोयाबिनको उत्पादन तथा बिक्री पनि सुरु गरिएको ऐरले जानकारी दिए । कम्पनीले छिट्टै डडेल्धुरालगायत सुदूरपश्चिमका विभिन्न बजारहरूमा तेल उपलब्ध गराउने योजना बनाएको छ ।

रमसिला तेलको उत्पादनले स्थानीय किसानलाई प्रत्यक्ष रूपमा लाभ पुर्‍याउने अनुमान गरिएको छ ।

यसले कृषि उपजको मूल्यवृद्धि गर्ने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने विश्वास गरिएको छ ।
तेलको नाम ‘रमसिला’ डडेल्धुराको आलिताल गाउँपालिकामा रहेको ऐतिहासिक रमसिला धाराबाट प्रेरित भएर राखिएको कम्पनीले जनाएको छ ।

जनविश्वास अनुसार, भगवान राम वनवास जाँदा तिर्खा लागेपछि उनले बाण हानेर पानी निकालेको ठाउँ नै रमसिला धारा हो ।

२०७६ मा कम्पनीका रूपमा दर्ता भएको यो उद्योग ७ सय ७७ जना शेयर सदस्य र १ हजारभन्दा बढी भटमास उत्पादक कृषकहरू मिलेर सञ्चालनमा ल्याइएको हो ।

यसको अवधारणा भने सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले ल्याएका हुन्।

Loading...