पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबार मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटाएको हो । समायोजन भएको नयाँ मूल्य अनुसार पहिलो वर्गमा पर्ने विराटनगर, नेपालगञ्ज, वीरगन्ज लगायतका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, डिजेल तथा मट्टितेलको मूल्य १ सय ४८ रुपैयाँ ५० पैसा तोकिएको छ ।

यसैगरी दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ कायम गरिएको छ । तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल मूल्य १५१ रुपैयाँ कायम गरिएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार शनिबार मध्यरातबाट लागू हुने गरी इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

Loading...