डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका-५ डकलेमा बन्ने बसपार्कको शिलान्यास गरिएको छ ।
शनिबार एक कार्यक्रमकाबीच अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले बसपार्कको शिलान्यास गरेका हुन।
संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीका सब इन्जिनियर डम्बर डाँगीले मालिका-कालिका-जेवि, जेभीले निर्माणकाे जिम्मा पाएकाे बताए ।
उनकाअनुसार २०८१/०२/३२ मा सम्झौता गरिएको बसपार्क निर्माणका लागि १० करोड ३० लाख १६ हजार ९९० (बिना भ्याट) रुपैयाँ विनियोजन गरिएको छ ।
१७ महिनामा निर्माण सम्पन्न गरिने उनले बताए । अमरगढी नगरपालिका-८का वडाध्यक्ष नरबहादुर साँकीले २०६७ सालमै डकलेमा बसपार्क निर्माणकाे थालनी गरिएको थियाे । २०६८ सालमा बसपार्क निर्माणका लागि संघर्ष समिति बनाएर आफू संयोजक बनेको समेत उनले स्मरण गरे ।
लामो समयसम्म अड्किएर बसेकाे योजनाले निकास पाएकाे नगरप्रमुख जोशीले बताए । डडेल्धुरा सात पहाडी जिल्लाको केन्द्रमा रहेको कारण यो बसपार्क सुदूरपश्चिमकै गाैरबको योजना रहेको उनले जिकिर गरे ।
डडेल्धुरा सदरमुकाम बागबजारको भीडभाड र पार्किङ समस्या समाधान गर्न यो बसपार्क निर्माणको थालनी गरिएको हो ।
अमरगढी नगरपालिका–८ स्थित डकलेमा बसपार्क निर्माणको काम २०७३/०७४ सालमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय डोटीबाट ६० लाख रुपैयाँ विनियोजन गरी सुरु गरिएको थियो ।
ठेक्का सम्झौताका आधारमा जमिन सम्याउने र पर्खाल लगाउने काम गरिएको थियो, तर त्यसपछि बजेट अभावका कारण काम रोकियो ।
अमरगढी नगरपालिकाले वन विकास कोषमा झन्डै १ करोड ११ लाख रुपैयाँ क्षतिपूर्ति रकम जम्मा गरेपछि रुख कटानी कार्य सुरु भएको थियोे ।
हाल ४० रोपनी क्षेत्रफलमा बसपार्कसँगै शपिङ कम्प्लेक्स, टर्मिनल भवन, पार्किङ, टिकट काउन्टर, र शौचालय जस्ता संरचना निर्माण गर्ने योजना छ ।