धनगढी उपमहानगरको २ अर्ब ५६ करोड चार लाखको बजेट पारित

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ । धनगढी उपमहानगरपालिकाको नगर सभाबाट २ अर्ब ५६ करोड चार लाख ६६ हजारको बजेट पारित भएको हो ।

धनगढी उपमहानगरले चालु आर्थिक वर्षको बजेट भन्दा ३७ करोड ६२ लाख ३३ हजार सात सय ८० रुपैयाँ अर्थात् १७ दशमलव २२ प्रतिशतले बजेट वृद्धि गरेको छ ।

धनगढी उपमहानगरपालिकाले एक अर्ब ३८ करोड २६ लाख ५१ हजार छ सय ४० रुपैयाँ चालुतर्फ र एक अर्ब १८ करोड २९ लाख ३५ हजार २ सय ९२ रुपैयाँ पुँजीगत तर्फको बजेट पारित गरेको छ । उपमहानगरपालिकाको कुल बजेटको ५३ दशमलव ८ प्रतिशत चालु तर्फ र ४६ दशमलव २ प्रतिशत पुँजीगत बजेट रहेको छ ।

धनगढी उपमहानगरपालिकाको आन्तरिक आय ५४ करोड ७९ लाख ६७ हजार एक सय ११ रुपैयाँ रहेको छ ।  राज्यश्व बाँडफाँडबाट ५७ करोड ६० लाख ६२ हजार एक सय ४३, नेपाल सरकारबाट वित्तिय हस्तान्तरण ९९ करोड नौ लाख, प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण ११ करोड २२लाख ४१ हजार र मौज्दात ३३ करोड ३२ लाख ९५ हजार सात सय ४६ रुपैयाँ रहेको छ ।

धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २ सय २० रुपैयाँ बजेट कार्यान्वयन गर्दैछ। उपमहानगरको चालु आर्थिक वर्षमा जेठ मसान्तसम्म एक अर्ब ८१ करोड पाँच लाख ८४ हजार सात सय २२ रुपैयाँ खर्च गरेको छ ।

 

Loading...