कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा सांसद जोशी

कुलमान घिसिङ–संलग्न उज्यालो नेपाल पार्टीमा डडेल्धुराका प्रदेश सभा–२ का स्वतन्त्र सांसद डा. तारा जोशी पनि आवद्ध भएका छन्।

उज्यालो नेपाल पार्टी साउन २७ गते मानबहादुर तामाङ नेतृत्वमा दर्ता भएको हो। हाल पार्टीलाई पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा पुनर्गठित गर्दै ५१ सदस्यीय कार्यसमितिको अध्यावधिक विवरण निर्वाचन आयोगमा बुझाइएको जानकारी जितराम वाइबाले दिएका छन ।

घिसिङ भने मन्त्री पदमै रहेकाले अहिले औपचारिक रूपमा कार्यसमितिमा छैनन्। उनले फागुन २१ गते तय प्रतिनिधि सभा निर्वाचनको अघिल्लो चरणदेखि मात्र सक्रिय भएर सभापतिका रूपमा नेतृत्व गर्ने तयारी गरेको स्रोत बताउँछ।

आयोगमा पेश गरिएको अध्यावधिक सूचीमा डा. जोशी, प्राध्यापक डा. महेन्द्र लावती, सञ्चारकर्मी तथा प्रस्तोता रिमा विश्वकर्मा, खड्गबहादुर बस्नेत, टासी ल्हाजोम लगायतका नाम समावेश छन्।

पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनमा भाग लिन ‘बिजुलीको चिम’ चुनाव चिह्न मागेको छ।

Loading...