पहुँचको भरमा सुगम क्षेत्रमा काजमा बसेका ४ विशेषज्ञ चिकित्सककाे काज फिर्ता

डडेल्धुरा ।  लामो समयदेखि ‘काज’ मिलाएर अन्यत्र कार्यरत रहेका विशेषज्ञ चिकित्सकहरू आफ्नै दरबन्दीमा  फर्काएको छ  ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको निर्णयपछि स्वास्थ्य सेवामा सन्तुलन कायम गर्ने उद्देश्यसहित पहिलो चरणमा १४ जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकलाई उनीहरूको मूल कार्यस्थलमा फिर्ता पठाइएको हो। सोही निर्णयअनुसार डडेल्धुरा अस्पतालमा दरबन्दी रहेका चार विशेषज्ञ चिकित्सकलाई पनि काजबाट फिर्ता बोलाइएको छ।

पहुँचको भरमा सुगम क्षेत्रमा काजमा बसेका विशेषज्ञ चिकित्सकहरूलाई उनीहरूको दरबन्दी रहेको कार्यस्थलमा फर्काउने सरकारी अभियान अन्तर्गत डडेल्धुरा अस्पतालका चार जना विशेषज्ञ चिकित्सकको काज फिर्ता गरिएको छ।

काज फिर्ता हुने चिकित्सकहरूमा नवौँ तहका डा. सन्तोषकुमार गुप्ता, कन्सल्टेण्ट डर्माटोलोजिष्ट डा. मिसन्ता शर्मा, कन्सल्टेण्ट सर्जन डा. नविन चन्द्र भट्ट र वरिष्ठ कन्सल्टेण्ट रेडियोलोजिष्ट डा. सुयोग्य वाग्ले रहेका छन्। उनीहरू हाल विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा स्वास्थ्य संस्थामा काजमा कार्यरत थिए ।

यस निर्णयपछि डडेल्धुरा अस्पतालमा विशेषज्ञ सेवामा सुधार आउने र स्थानीय नागरिकले आफ्नै जिल्लामै सहज रूपमा उपचार सेवा पाउने अपेक्षा गरिएको छ ।

Loading...