सन्दीपलाई भिसा दिन अमेरिकी दूतावासको आनाकानी, दोस्रो आवेदन पनि अस्विकार

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकी दूतावासले आनाकानी गरिरहेको छ । टी-२० विश्वकप क्रिकेटमा सहभागी हुन सन्दीपले भिसाका लागि दिएको दोस्रो आवेदन पनि दूतावासले अस्वीकार गरिदिएको छ । लगातार दुई पटक भिसा दिन अस्विकार गरेपछि नेपाल क्रिकेट संघ क्यानको पहलमा लामिछानेले तेस्रो पटक पनि आवेदन दिएका छन् ।

दोस्रो पटक पनि आफ्नो निवेदन अस्वीकार भएपछि लामिछानेले सोमबार सामाजिक सञ्जालमा आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी भएको लेखेका छन् ।

 

यसअघि गत बुधबार भने उनले आफूलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको भन्दै स्टाटस लेखेका थिए । त्यसपछि उनलाई भिसा दिलाउन क्यानले संस्थागत पहल गरेको थियो । खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयले पनि पहल गरेका थिए ।

जिल्ला अदालत, काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत, पाटनले सफाइ दिएको थियो । लगत्तै क्यानले लामिछानेको निलम्बन फुकुवा गरेको थियो । टि-२० विश्वकप जुन २ देखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ ।

Loading...