नवराज सुबेदी नजरबन्द मुक्त भए

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदी नजरबन्द मुक्त भएका छन ।

उनलाई गत चैत १५ गतेबाट सरकारद्वारा अघोषित नजरबन्दमा राखिएको थियो । हिजो रातिबाट सुबेदीको घर बाहिर तैनाथ प्रहरी आज बिहान हटेको हो, तर परिवारलाई औपचारिक जानकारी दिइएको छैन ।

समितिका प्रवक्ता स्वागत नेपालले २४ दिनपछि प्रहरीले सुबेदीको घरबाट हटेको जानकारी दिएका छन् । गत चैत १५ गते राजधानीको तीनकुनेमा राजावादीले गरेको प्रदर्शन उग्र बनेपछि सुबेदीलाई निगरानीमा राखिएको थियो ।

जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले भने प्रहरी सुरक्षा मात्रै प्रदान गरिएको दाबी गरेका छन् । राजावादी प्रदर्शनमा हिंसा भएपछि दुई जनाको मृत्यु र २० जना घाइते भएका थिए ।

Loading...