काठमाडौं । भ्रष्टाचारको मुद्धा दायर भएसँगै प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन ।
अख्तियारले बस्नेत सहितका १६ व्यक्ति र दुइ कम्पनीविरुद्ध टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) को खरीद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेसँगै बस्नेत सांसद पदबाट निलम्बित भएका हुन । भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ ।
बस्नेत मन्त्री पदमा रहेका बेला टेरामक्सको खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले मुद्धा दायर गरेको हो ।
अख्तियारले ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो कायम राखेर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन ।
