काठमाडौं : मार्कस स्टोइनिसको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाले आइसिसी टी–२० विश्वकपमा सुखद सुरुआत गरेको छ।
बार्बाडोसस्थित केन्सिङ्टन ओभल मैदानमा बिहीबार अस्ट्रेलियाले ओमानविरुद्ध ३९ रनको जित निकाल्यो।
जितसँगै समूह ‘बी’ को अस्ट्रेलियाले दुई अंक जोडेको छ। दुवै खेलमा पराजित ओमान अंकविहिन छ। ओमान पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको थियो।
अस्ट्रेलियाले दिएको १६५ रन लक्ष्य पछ्याएको ओमानले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १२५ रन बनायो।
ओमानका लागि आयन खानले ३६, मेहरान खानले २७, कप्तान अकिब इल्यासले १८ र शकिल अहमदले ११ रन बनाए।
अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले तीन तथा नाथन एलिस, मिचेल स्टार्च र एडम जाम्पाले समान दुई विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रनको योगफल तयार पारेको थियो।
अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले ३७ बलमा ६ छक्का र दुई चौकाको मद्दतले अविजित ६७ रनको योगदान गरे। यसैगरी डेविड वार्नरले ५१ बलमा ६ चौका र एक छक्काको मद्दतले ५६, कप्तान मिचेल मार्शले १४ र ट्रभिस हेडले १२ रन बनाए।
चौथो विकेटका लागि स्टोइनिस र वार्नरले १०२ रनको साझेदारी गरे। ओमानका लागि मेहरन खानले दुई तथा कलीमुल्लाह र बिलाल खानले समान एक विकेट लिए।
प्रतियोगिता अन्तरगत आज राति आयोजक अमेरिकासँग खेल्नेछ।